कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सम्मान कार्यक्रम
कांग्रेस 'समाजवादी पार्टी', आदर्श र सिद्धान्त सबैभन्दा राम्रो : देउवा
शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली कांग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
2.7k
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एउटा समाजवादी पार्टी भएको दाबी गरेका छन्। उनले प्रतिस्पर्धी पार्टीहरूमध्ये कांग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो रहेको पनि बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो धारणा राखेका हुन्। उनले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए।
सभापति देउवाले कांग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक रहेको उल्लेख गरे। उनले कांग्रेस सबैभन्दा पुरानो पार्टी भएको र यसको प्रजातान्त्रिक समाजवादको आदर्श रहेको बताए। देउवाको भनाइअनुसार, कांग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षालाई व्यापक बनाउन सकेमा पार्टीलाई बहुमत प्राप्त गर्ने शक्तिका रूपमा अघि बढाउन सकिनेछ।
देउवाले भने, "आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्वपूर्ण कुरा छ। प्रतिस्पर्धी पार्टीहरूमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ। हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रूपमा बुझाउन आवश्यक छ। सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ। समाजवादी पार्टी हो। त्यसलाई त्यसको शिक्षाहरूलाई अझ व्यापक रूपमा बुझाउन सके नेपालमा नेपाली कांग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ। यद्यपि अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले नेपालका सबै दाजुभाइ दिदीबहिनीहरूलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ।"
सभापति देउवाले आदिवासी जनजाति र सबै जातजातिहरूलाई कांग्रेसमा समेट्न जरुरी रहेको पनि बताए। यसले संविधानको समावेशी भावनालाई आत्मसात् गर्दै पार्टीलाई अझ फराकिलो बनाउन मद्दत पुग्ने उनको विश्वास छ।