ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला ’थाम राम’ नामक विशिष्ट मौलिक संस्कृतिले रौनक छाएको छ। सयौँ वर्ष पुरानो मानिने यो परम्परालाई स्थानीयवासीले संरक्षणमा जोड दिएका छन्।
स्थानीय भाषामा ’थाम’ को अर्थ ’तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने’ र ’राम’ को अर्थ ’मेला’ भन्ने बुझिन्छ। यो संस्कृति विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग जोडिएको छ। हरेक वर्ष साउन १ गते गाउँका युवायुवती लेकमा गएर फूल टिप्छन्। गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरू साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउँछन्। भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनी तन्नेरीलाई लेकबाट ल्याएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने (थाम खेल्ने) गर्छन्।
थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् र नयाँ पुस्ताले पनि यसमा चासो देखाएका छन्। यो संस्कृति खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ। निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार, पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे, तर पछिल्लो समय त्यो चलन भने कम भएको छ। थाम राम युवायुवतीको जमघट हुने महत्त्वपूर्ण माध्यम पनि रहेको घर्तीमगरले बताए।
"थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ," अध्यक्ष घर्तीमगरले भने, "लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ। यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ।"
यो संस्कृति द्वन्द्वकालमा रोकिएको थियो। विसं २०५७ देखि रोकिएको यो संस्कृति स्थानीयले गत वर्षदेखि पुनः मनाउन थालेका छन्। स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको यकिन नभए पनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताए। थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका र आफन्तहरूलाई जमघटको अवसर जुटाउने उनको भनाइ छ।
"थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ," बुढामगरले भने, "पहिलेपहिले अहिलेको जस्तो फोनको जमाना थिएन, तरुनी तन्नेरी भेट हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके, सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्त्व जोडिएको छ।"
यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ। युवालाई एकीकृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ। युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिए। युवाले चासो नदिए संस्कृति नै लोप हुने उनको भनाइ छ।