arrow

सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
mahanyadhibakta-badal.jpg

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८१ मा सरकारवादी मुद्दामा ६८ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले यो जानकारी दिएका हुन्।

बडालका अनुसार, हालसम्म ३ हजार ३ सय ७० वटा मुद्दा फाइलको अध्ययनपछि २ हजार ७ सय ९० वटा मुद्दामा कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ। प्राप्त मुद्दामध्ये ४८६ वटा सर्वोच्च अदालतमा र ९५ वटा मुद्दा उच्च अदालतमा पुनरावेदन गर्ने निर्णय भएको उनले बताए।

मुद्दा चलाउने वा नचलाउनेबारे गरिएको प्रारम्भिक निर्णयमा ३६८ मुद्दामध्ये ३४० वटामा मुद्दा नचलाउने निर्णय गरिएको छ। १० वटा मुद्दा चलाउन तल फर्काइएको र बाँकी मुद्दाहरूमा थप अनुसन्धान आवश्यक देखिएको बडालले बताए।

महान्यायाधिवक्ताले अघिल्लो कार्यकालको तुलनामा पुनरावेदनसम्बन्धी फाइल संख्या घटेको बताए। उनले नायब र सह–न्यायाधिवक्तालाई निर्णयको अधिकार प्रत्यायोजन गरिएकाले फाइलको संख्या स्वाभाविक रूपमा कम भएको आफ्नो अनुमान रहेको स्पष्ट पारे।

"३ हजार ३ सय ७० वटा फाइलमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने विषयमा मैले हस्ताक्षर गरेको छु," बडालले भने, "गत वर्ष हामीले अभियोजन गरेको सरकारवादी मुद्दामध्ये ६८ प्रतिशत सफलता हासिल गरेको देखिन्छ। त्यो सफलता भन्नुको मतलब के हो भने हामीले सवारी ज्यान मुद्दामा कुनै पनि सजाय भएमा हामीले त्यसलाई सफलताका रूपमा लियौँ। यो वर्ष यस्तो संख्या बढेको मेरो विश्वास छ।"

उनले फौजदारी न्याय प्रणाली र सुधारका लागि आफू प्रतिबद्ध रहेको पनि बताए। शुक्रबार नै महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेको बिदाई गरिएको छ। घिमिरे अनिवार्य अवकाशमा जान लागेकाले बिदाई गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ