पत्रकारितादेखि सरकारी मुख्य कानुनी सल्लाहकारसम्मको यात्रा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
883
Shares
काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले आइतबार आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमको उपस्थितिमा उनले शपथ लिएका हुन्। प्रधानमन्त्री वालेन्द्र साहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नै उनलाई नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त गरेका थिए।
बागलुङको बिहुँमा जन्मिएका डा. कँडेलको प्राज्ञिक र व्यावसायिक यात्रा निकै गरिमामय रहेको छ। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गरेका छन्। उनले सन् २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरेका थिए। साथै, सन् २०२३ मा उनले उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि पूर्ण गरेका छन्।
डा. कँडेलको व्यावसायिक सुरुवात भने पत्रकारिताबाट भएको थियो। वि.सं. २०४९ देखि पत्रकारितामा सक्रिय उनले रेडियो नेपाल, राजधानी दैनिक र राष्ट्रपुकार जस्ता सञ्चारमाध्यममा एक दशकभन्दा बढी समय समाचारदाताका रूपमा काम गरे। उनी २०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति समेत रहेका थिए।
वि.सं. २०६० मा अधिवक्ताको प्रमाणपत्र लिएपछि उनको कानुनी यात्रा सुरु भएको हो। उनले फ्रिडम फोरम र एम्नेष्टी इन्टरनेसनल जस्ता मानवअधिकारवादी संस्थाहरूमा पनि महत्वपूर्ण योगदान दिएका छन्। बेलायतबाट नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारका रूपमा समेत सक्रिय रहेका थिए।