पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्न वैकल्पिक वित्त परिचालन विधेयक ल्याइयो: अर्थमन्त्री पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
2.1k
Shares
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार विकासमा निजी पुँजी आकर्षित गर्नका लागि वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ अघि सारिएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।
मन्त्री पौडेलले यो विधेयकले स्वदेश र विदेशमा रहेका निजी क्षेत्रका लगानीकर्तालाई पूर्वाधार विकासतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनले पूर्वाधार विकासमा आवश्यक पर्ने पुँजीमा हाल परम्परागत स्रोतले मात्रै धान्न नसक्ने अवस्था आएको पनि बताए। विकासको गुणात्मक गति बढाउन, राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र सार्वजनिक ऋणको चाप कम गर्न निजी क्षेत्रको पुँजी उपयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
उनले भने, "यो विधेयकले विशेषगरी स्वदेश र विदेशमा रहेको निजी क्षेत्रको लगानी पूर्वाधार विकासका निम्ति आकर्षित गर्न सक्छौँ। पूर्वाधार विकासको क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी आकर्षित गर्ने परिस्थिति बन्दा अरू गुणात्मक विकासलाई तीव्र पार्नका निम्ति मद्दत पुग्छ भन्ने अनुभूतिको साथ यो विधेयक अघि सारिएको हो।"
मन्त्री पौडेलले पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यकता भए पनि सार्वजनिक ऋण दिनप्रतिदिन बढिरहेको सन्दर्भमा सरकारले वैकल्पिक वित्तीय स्रोत खोज्नु अपरिहार्य रहेको बताए।