दक्षिण कोरियाको आईसीटी निर्यातमा लगातार पाँचौँ महिना वृद्धि, सेमिकन्डक्टरको माग उच्च
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
1.4k
Shares
काठमाडौँ। सेमिकन्डक्टरको बढ्दो मागका कारण दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामानको निर्यात लगातार पाँचौँ महिना बढेको छ। यो वृद्धिले कोरियाली प्रविधि उद्योगको बलियो प्रदर्शनलाई सङ्केत गर्छ।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार, जुन महिनामा आईसीटी सामानको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर २२ अर्ब तीन करोड अमेरिकी डलर बराबर पुगेको छ। गत फागुन महिनादेखि नै निर्यात वृद्धि भइरहेको छ।
विशेष गरी जनरेटिभ कृत्रिम बौद्धिकता (कृबौ) प्रयोग हुने डबल डाटा दर ५ (डीडीआर५) चिपहरूको माग उच्च रहँदा चिप निर्यात ११.५ प्रतिशतले बढेर १४ अर्ब ९८ करोड डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्चतम हो। यसका साथै, कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरणको निर्यात पनि १२.७ प्रतिशतले बढेर एक अर्ब ४५ करोड डलर पुगेको छ।
यद्यपि, सबै आईसीटी सामानको निर्यातमा भने वृद्धि देखिएन। सञ्चार उपकरणको निर्यात ०.७ प्रतिशतले घटेर २० करोड डलरमा सीमित भयो भने मोबाइल फोनको निर्यात ६.२ प्रतिशतले घटेर ७९ करोड डलरमा पुगेको छ।
जुन महिनामा सूचना तथा सञ्चार प्रविधि सामग्रीको आयात भने १४ प्रतिशतले बढेर १२ अर्ब ४१ करोड डलर पुगेको छ। यसले गर्दा सो क्षेत्रमा व्यापार नाफा नौ अर्ब ६२ करोड डलर कायम भएको मन्त्रालयले जनाएको छ।