मनसुन विपद्मा सक्रिय हुन रास्वपाको कार्यकर्तालाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
505
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद्का घटनामा सक्रियतापूर्वक मानवीय सहयोगमा जुट्न आफ्ना सम्पूर्ण पार्टी पङ्क्तिलाई आग्रह गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्को न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूलाई आह्वान गरेका हुन्।
रास्वपाले विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न पनि अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।" रास्वपाले विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य भएको भन्दै विपद् पूर्वको तयारी र विपद् पश्चातको प्रतिकार्यका लागि ध्यान केन्द्रित गर्न अनुरोध गरेको छ।