नेपाली जीवित रहेसम्म भानुभक्तको महत्त्व रहिरहन्छ: शिक्षामन्त्री पन्त [भिडिओ]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
608
Shares
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषा, नेपाल र नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्त्व सधैँ कायम रहने बताएका छन्। आइतबार २१२औँ भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
मन्त्री पन्तले भानु जयन्ती मनाउनुको मुख्य तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, भाषा फैलाउने र भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरूलाई सम्झनु रहेको स्पष्ट पारे। उनले हरेक व्यक्तिले आफ्नो कालखण्डलाई मात्र नेतृत्व गर्न सक्ने भन्दै भानुभक्त आचार्यले आफ्नो समयमा साहित्यको क्षेत्रमा अतुलनीय नेतृत्व प्रदान गरी नेपाली भाषालाई फैलाउने मूर्धन्य व्यक्तित्व भएको बताए।
"जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौँ, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्त्व र ऐतिहासिकता रहन्छ," मन्त्री पन्तले भने, "भानुभक्त आचार्यलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु हो।"
मन्त्री पन्तले अहिले विभिन्न भाषाहरू लोप हुँदै गइरहेको अवस्थामा नेपाली भाषालाई समृद्ध बनाइराख्ने र यसको संरक्षण गर्ने चुनौती रहेको समेत औंल्याए।