पुँजीबजारको विकास तीव्र, तर नियमन कमजोर -धितोपत्र बोर्ड अध्यक्ष
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
2.2k
Shares
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालको पुँजीबजार द्रुत गतिमा विकास भए पनि नियमन पक्ष कमजोर रहेको आफूले महसुस गरेको बताएका छन्। बिहीबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले पुँजीबजारको विस्तारअनुसार विगतमा नियमन हुन नसकेको र आफ्नो ६ महिनाको कार्यकालमा यसलाई सुधार्ने प्रयास भइरहेको जानकारी गराए।
श्रेष्ठले लेखा समितिको पत्र र पछिल्लो अर्थ समितिको निर्देशनले आईपीओ जारी प्रक्रियामा थप अन्योलता सिर्जना भएको उल्लेख गरे। उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे समितिबाटै स्पष्ट निर्देशन हुनुपर्नेमा जोड दिए।
नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणि शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा रहेको उनले बताए। उक्त प्रतिवेदनले नयाँ स्टक एक्सचेन्ज दिन उपयुक्त हुने सुझाव दिएको छ भने, हालको नेप्सेलाई पुनर्संरचना गर्न भनिएको छ। पुरानोलाई कसरी अगाडि बढाउने भन्नेबारे गृहकार्य भइरहेको पनि उनले जानकारी दिए।
अध्यक्ष श्रेष्ठले भने, "पुँजीबजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरुप नियमन गर्न सकेको छैन। हामीले महसुस गरेकै छौँ। सुदृढ गर्न लागिरहेको छु। कुनै पनि अर्थतन्त्रमा मनी मार्केट र क्यापिटल मार्केट हो। हाम्रो मार्केटमा मनी मार्केटमा दबदबा छ। विस्तारै घटाएर लैजानुपर्छ।"
उनका अनुसार, नयाँ स्टक एक्सचेन्ज दिन कुनै रोकतोक छैन र अहिले तीन वटा प्रस्ताव आइसकेका छन्। ती प्रस्तावहरूको मूल्यांकन गरी प्रक्रिया अघि बढाइनेछ। धितोपत्रमा उत्पादनमूलक कम्पनी र राम्रा कम्पनीहरूलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको बताउँदै श्रेष्ठले अप्ठ्याराहरूलाई हटाउँदै सन्तुलित हिसाबले अघि बढ्नुपर्नेमा जोड दिए। पुँजीबजारका औजारहरूलाई प्रवर्द्धन गर्दै डिबेन्चर र बोनलाई अघि बढाउने लक्ष्य रहेको उनको भनाइ छ। धितोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरूलाई अघि बढाउनेबारे सम्बोधन गरिने उनले बताए।