त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक तत्काल बोलाउन सांसद पुनको सरकारलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
2.1k
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन आग्रह गरे। उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौं युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे।
पुनले भने, "नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्छ। यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रुपले स्थगित गरियो। गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो।" उनले तत्कालीन उपकुलपतिले सरकारको असहयोगका कारण राजीनामा दिएको भन्ने अनौपचारिक कुरा आएको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे।