महामन्त्री थापा भन्छन् – ८२ चैतसम्म १५ औँ महाधिवेशन, भ्रातृसंस्थाको अधिवेशन गुटविहीन
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
3.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशन आगामी चैतभित्र गर्ने गरी तयारी गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन सोमबार बोल्दै उनले अहिले पनि पार्टीको महाधिवेशनका लागि काम भइरहेको भन्दै अर्को केन्द्रीय कार्यसमिति बैठकले महासमितिको मिति तोक्ने बताए ।
यसैलाई आधार बनाउँदै उनले जिम्मेवार नेताले बाहिर भाषण गर्दा महाधिवेशनको काम नै केही भएको छैन भनेर नबोल्न पनि आग्रह गरेका छन् ।
उनले भ्रातृ संस्थाहरुको हुन बाँकी महाधिवेशन पार्टीले नै जिम्मा लिएर सबै नेताहरु सक्रिय भएर गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले सबै नमिलेसम्म भ्रातृ संस्थाको लामो समय रोकिएको अधिवेशन गर्न गाह्रो हुने भन्दै पार्टीको गुप उपगुटको रोग भ्रातृ संस्थामा सर्न नदिन आग्रह गर्दै अब हुने अधिवेशनलाई गुटविहीन फ्री छोड्नु्पर्ने बताएका छन् ।
उनले विभिन्न विषयमा आफ्नो सम्बोधन गरेका छन् ।
बैठक बस्ने सम्बन्धमाः
कहिलेकहिँ सभापतिको घरमा बैठक बसेकोमा गुनासो गर्नुभएको छ । यो बीचमा कार्यसम्पादन समितिको बैठक दुई पटक बस्यो । निर्णय सार्वजनिक गर्ने गरेकै छौँ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक बाहेक कुनै पनि बैठकले केही निर्णय गरेको छैन ।
सभापतिले तत्काल पर्ने विषयमा पार्टीका तर्फबाट निर्णय गर्नुहुन्छ । त्यो निर्णय गर्दा कहिले आफैँ गर्नुहुन्छ । कहिले आवश्यकता पर्दा उपसभापतिलाई बोलाउनु हुन्छ । कहिलेकहिँ पार्टीका महामन्त्रीहरुलाई बोलाउनु हुन्छ ।
कहिलेकहिँ पार्टीका पूर्वपदाधिकारीलाई बोलाउनु हुन्छ । कहिले पार्टीका सम्पूर्ण पदाधिकारीलाई बोलाउनु हुन्छ । त्यसकै आधारमा पार्टीको पोजिशन लिने परम्परा उहाँले बसाल्नुभएको छ । तर पार्टीका निर्णयहरु भने पार्टीको कार्यसम्पादन समितिबाट मात्रै भएको छ । दुई तीन महिनामै केन्द्रीय समिति बस्यो भने अनुभव बाँड्न सजिलो हुन्छ ।
भ्रातृ संस्थाहरुको अधिवेशनका सन्दर्भमाः
भ्रातृ संस्थाको बारेमा १४ औँ महाधिवेशनपछि भ्रातृ संस्थाहरुको महाधिवेशन यथासिघ्र गरौँ भनेका थियौँ । भ्रातृ संस्थाका साथीहरु केन्द्रीय समितिमा आएकाले पार्टीको विधानका आधारमा तलको पद रिक्त भएको मानेर पार्टी सभापतिले केही साथीहरुलाई जिम्मेवारी दिनुभयो र हामीले समितिहरु बनायौँ ।
समिति ठूलो बनायौँ । भ्रातृ संस्थाको विधान नभएकाले हामीले ठूलो समिति बनाउनु गल्ती गर्यौँ भन्ने लाग्छ । सानो बनाएको भए सम्पर्क गर्न सजिलो हुन्थ्यो होला । भ्रातृ संस्थाले अधिवेशन गर्न सकोस् भनेर म्याद थप्दै गयौँ । अघिल्लोपटक भदौमा ८१ सालको चैत मसान्त सम्ममा अधिवेशन गर्न सकेन भने स्वतः म्याद समाप्त गरी त्यसको वैधता नहुने बनायौँ ।
यो प्रस्ताव यहाँबाट पारित गरियो । त्यसको अपेक्षा के थियो भने त्यस्तो प्रेसरमा परेका साथीहरुले नयाँ अधिवेशन गर्नेछन् र नयाँ साथीहरु आउँछन् भन्ने अपेक्षा थियो । त्यो बीचमा केही भ्रातृ संस्थाहरुको अधिवेशन भयो । साथीहरुले मेहनत गर्नुभयो । नेविसंघको सन्दर्भमा स्ववियु निर्वाचन भएकाले चैतसम्म केही पनि नगर्नुहोला है भनेर पाँच महिनाअघि नै हामीले तयारी रोक्यौँ । बाँकी संघसँग लगातार सम्पर्क गरिराखेका छौँ तर भएन ।
अब भ्रातृ संस्थाले गर्न सक्दैन यसलाई जिम्मेवारीबाट मुक्त गरौँ नयाँ बनाऔँ भनेर पनि आयो । फेरि नयाँ बनाए पनि त्यही नै हो । दुई तीन महिना त जिम्मा दिनै लाग्छ । समितिहरु बनाउन त अर्को ५–६ महिना जाने भयो ।
सबै लाग्ने हो भने हामी भ्रातृ संस्थाको अधिवेशन गर्न सक्छौँ । सबै यसमा लाग्ने हो कि । भ्रातृ संस्थाको अधिवेशन पार्टीले नै गराउँ भन्ने नै भएको छ । समिति बनेका छन् । निर्देशक समितिलाई पूर्ण जिम्मेवारी दिऔँ । म्यासिभ सदस्यता बाँडौँ । सानो व्यवस्थापन समिति बनाऔँ । यसरी गयौँ भने भ्रातृ संस्थाको अधिवेशन हुन सक्छ ।
चैत सम्ममा अधिवेशन सम्पन्न नभए स्वतः म्याद समाप्त हुने भएकाले आज हामीले पदावधि थपेनौँ भने भ्रातृ संस्था छैन । प्राविधिक र कानूनी रुपमा छैन । चैतपछि भ्रातृ संस्थाहरु रित्तो रहेको अवस्था हो । बीचमा अनसनहरु भएकाले गर्दा तरुण दलको हामीले बीचमा निर्णय गर्यौँ ।
एकताको सन्देश दिने भ्रातृ संस्थाको अधिवेशन हो । यो पटकको भ्रातृ संस्थाको अधिवेशन कुनै पनि गुट उपगुटको छायाँ नपर्ने गरी फ्री गरौँ । यसरी अधिवेशन गर्न सकिन्छ ।
जनसम्पर्क समितिबारेः
केही देशमा विवाद छ । विवादलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ । जुन देशमा समस्या छ हाम्रो विभाग छ । विभागले थप काम गर्नुपर्छ ।
विधि विधानअनुसार जनसम्पर्क समितिको काम अगाडि बढाउँछौँ । जनसम्पर्क नभएको ठाउँमा जनसम्पर्क समिति खोल्ने र हाम्रो समितिलाई केवल कांग्रेसको महाधिवेशनमा भोट हाल्न आउने भन्ने छ ।
हामीले अब जुन ठाउँका लागि साथीहरुले काम गर्ने भनेर जनसम्पर्क समिति खोलेको हो त्यहाँकै लागि काम गर्नुपर्छ । ठूलो संख्यामा नेपाली युवा विदेशमा छन् । उनीहरुलाई जोड्न सक्नुपर्छ ।
पार्टी संगठन र १५ औँ महाधिवेशनः
यसअघि जबसम्म पार्टीले अधिवेशनको तिथिमिति घोषणा गरेन तबसम्म क्रियाशील सदस्यमा प्रवेश गर्ने हाम्रो परम्परा नै थिएन । क्रियाशील सदस्यका बारेमा चिन्ता गर्ने कुरा स्वभाविक छ । पार्टीले काम गरेको छैन । नेताले काम गरेका छैनन् भन्ने कुरो पनि छ ।
अहिले त हामीले पहिलेदेखि नै क्रियाशील सदस्य बनाएका छौँ । पार्टीलाई मोबिलाइज गरेका छौँ । तल्लो तहमा पार्टीको तिथिमिति घोषणा नभएकाले पार्टी सदस्यता लिने कम छन् । मेरो क्षेत्रमा एउटा क्रियाशील सदस्यले पनि म सदस्यता नवीकरण गर्दिन भन्छ भने म दौडेर उसको घर जानुपर्छ भन्ने ठान्छु । किनभने त्यसले पार्ने प्रभाव ठूलो हुन्छ ।
मेरोमा २८ सय क्रियाशील सदस्य भएकामा २५ सय ४७ जनाले रिन्यु गर्नुभयो । ३३८ जनामा कोही विदेश जानु भएको, कोही स्वर्गे हुनुभएको र सानो संख्यामात्रै म यो अवस्थाले गर्दा रिन्यु गर्दिन भन्ने अवस्था रह्यो । त्यो संख्यालाई पनि हामीले सकेसम्म सम्वाद गरेर हटाउने कोसिस गरेका छौँ ।
मैले अनुरोध गर्न खोजेको के हो भने क्रियाशील सदस्य नवीकरण हुन्छ । खासगरीकन मैले पार्टीका नेताहरुलाई अनुरोध गर्न खोजेको कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा अलि बढी काम गरिदिनु पर्नेछ । १३ औँ बाट १४ औँमा आउँदा ८१.२ प्रतिशत रिन्यु भएको हो ।
२० प्रतिशत पहिले पनि छुटेकै हुन् । यी २० प्रतिशतका लागि यहाँहरुले आफ्नो निर्वाचन क्षेत्रमा विशेष काम गरिदिनु पर्नेछ ।
अब नयाँमा सदस्यता बाँड्ने अवस्था आएकाले गर्दा नवीकरणका लागि भदौको मसान्तसम्म केन्द्रीय कार्यसमितिबाट मिति तोकौँ । भदौ मसान्तपछि पार्टीको सदस्यता नवीकरण हुँदैन । त्यसपछि नयाँ सदस्यमा जानुपर्नेछ । त्यसलाई व्यवस्थित गरेर जानेबारे हामीले अनुसन्धान गरिरहेका छौँ । त्यसको निचोड आएपछि अगाडि बढ्ने छौँ ।
हामीले नतिजालाई पनि हेर्नुपर्छ । १३ औँबाट १४ औँ महाधिवेशनमा आउँदा सबैभन्दा कम क्रियाशील सदस्य मुस्ताङमा थिए । सबैभन्दा बढी चितवनमा थिए । क्रियाशील सदस्यका लागि यहाँहरुले सहयोग गर्नैपर्छ । भाद्र मसान्तसम्म बन्द गर्नैपर्छ । त्यसपछि नयाँ क्रियाशीलमा जानुपर्छ ।
दशैँ अगाडि एउटा केन्द्रीय कार्यसमितिको बैठक गर्नुपर्नेछ । त्यो बैठकबाट पुरानो क्रियाशीललाई लक गर्छौँ र नयाँ क्रियाशीलबारे निर्णय गर्छौँ ।
पार्टीको महाधिवेशनको तिथिमिति त्यो बैठकबाट निर्णय गर्नुपर्नेछ । त्यसपछि हामी महाधिवेशनको यात्रामा अगाडि बढ्छौँ । त्यसैले महाधिवेशनका लागि केही तयारी भएको छैन भनेर बाहिर नबोलिदिन जिम्मेवार साथीहरुलाई आग्रह गर्छु ।
पार्टीको महाधिवेश २०८२ मंसिरसम्म चार वर्ष हो । त्यो समयमा महाधिवेशन गर्ने अवस्था बनेको छैन ।
हामीले केही समय पर्खनु पर्नेछ । २०८३ मंसिरपछि हामीले समय थप्न पाउने कानूनी व्यवहारिक सुविधा छैन । त्यसैले २०८३ पनि नपुर्याइकन महाविधेशन गर्यौ भने स्थानीय तहको निर्वाचनलाई फाइदा हुन्छ ।
नयाँ आउने समितिलाई काम गर्न कम्तीमा चुनावभन्दा अगाडि एक वर्षको सुविधा पाउनु पर्छ । यसका लागि हामीले अर्को बैठकमा छलफल गर्नुपर्नेछ ।
सुभेच्छुक संस्थाहरुलाई थप सक्रिय बनाउनु पर्नेछ । भ्रातृ संस्थालाई सुभेच्छुक संस्थासँग जोड्नु पर्नेछ । हामी सरकारमा पनि भएकाले रिजल्ट देखिनु पर्नेछ । पब्लिक कार्यक्रम गर्न सुझाव आएको छ । बर्खा सकिएपछि त्यस्ता कार्यक्रम गर्छौँ ।
अनुशासनबारेः
अनुशासन समितिको प्रतिवेदन आएको छ । सभापतिले लिएको हुँदा त्यसभित्रको कन्टेन थाहा नभएको हुँदा त्यसबारेमा बोल्नु अपरिपक्व हुने ठान्छु ।
हाम्रो पार्टीको विधि, विधान र परम्परा छ त्यो अनुसार चल्नुपर्छ । अभ्यास पनि छ अनुभव पनि छ । पार्टीभित्र अनुशासनहिनताको पराकाष्टा भएको छ । यो सन्दर्भमा सबैसँग छलफल गरेर सरसल्लाह गरेर जानुपर्छ ।
स्थानीय, प्रदेश र संघीय सरकार र प्रगतिबारेः
स्थानीय सरकारका बारेमा हामीले लगातार छलफल गर्यौँ । पार्टीको विधान पढायौँ । अब स्थानीय सरकारसँग लगातार काम गर्छौँ ।
काम गर्ने यही वर्ष हो अर्को वर्ष चुनाव हुनाले धेरै काम गर्न पाइँदैन । अहिले आफ्नो वडामा रहेर काम गर्नुपर्नेछ ।
प्रदेशका सवालमा धेरै समस्या आएको छ । प्रदेशका सरकारहरुले खासगरी वित्तीय अनुशासन पालना गर्नुपर्ने सवालमा जुन अराजकता पायो त्यो पराकाष्टा छ । कतिपय साथीहरुले त धेरै बोल्नु पनि भएन किनभने बैठकभित्र राखेको कुरा यहीँभित्र सीमित हुने अवस्था छैन ।
प्रदेशमा गएको साथीहरुले त यो मेरो निजी हो प्राइभेट कम्पनी हो भन्ने ठान्नुभयो । यो त्यो नभनी केन्द्र्रको तर्फबाट जिम्मा नै दिएर तल जानुस् बस्नुस् विमति मिलाइदिनुस् कुराकानी गर्नुस् भन्नुपर्नेछ । केही कुरा मिलाउनु पनि पर्यो, केही कुरा सिकाउनु पनि पर्यो ।
संविधान संशोधनबारे–
संविधान संशोधन गर्ने भनेर एमालेसँग यात्रा प्रारम्भ गरेको । कसैलाई दोष दिने कुरा छैन । हामी नै अल्मलिएको हो यो । अब अल्मलिन हुन्न ।
हामीसँग अल्मलिने सुविधा छैन । पार्टीले तत्काल संविधान संशोधनका सम्बन्धमा एउटा कार्यदल बनाएर हामीले हाम्रै पार्टीभित्र पनि छलफल गर्नुपर्छ है । एकमत बनाएर जानुपर्छ । अरु पार्टीसँग छललफल गर्नुपर्नेछ । नागरिक समाजसँग छलफल गर्नुपर्नेछ ।
संविधान हाम्रो नेतृत्वमा बनाएको भएकाले यसको स्वामित्व हामीले लिनुपर्छ । बरालिनु हुन्न । बहकिन दिनु हुन्न । एमालेसँग सात बुँदे सहमतिका आधारमा हामीले कुराकानी गरिरहेका छौँ । सभापतिज्यूले थप कुराकानी गरिराख्नु भएको छ । आठ दश दिनभित्रमा कार्यदल बनाउर काम गर्नुपर्नेछ । कांग्रेसले लिड गरेर जानुपर्छ ।
सत्तामा कांग्रेसको प्रदर्शनः
एक वर्ष भयो संयुक्त सरकार बनेको । हाम्रा मन्त्रीज्यूहरुले मेहनत गरिराख्नु भएको छ । तर एक वर्ष सरकारमा रहेर हाम्रो यति भ्यालु बढ्यो भनेर हामीले भन्न सक्ने अवस्था छैन । त्यसैले हामीले यसलाई समीक्षा गर्नैपर्छ ।
कांग्रेस र एमाले छुट्टै हुँदा आन्दोलन हुन्थ्यो । तर सँगै भएपछि कसैले डिफेन्स गर्न पाएन । यसले थप जटिलता दिएको छ । हामी अगाडि बढ्छौँ । पर्फमेन्सका बारेमा बारेमा हामी गहन समीक्षा गरेर अगाडि बढ्छौँ ।
हामी सरकारमा छौँ । हामीले बनाएको संविधान छ । चुनाव आउन दुई वर्ष बाँकी छ । पार्टीका विभिन्न कार्यक्रममा गएर आएँ । ३३२ पालिका, २६ सय भन्दा बढी वडामा, प्रदेशमा र संघमा फेरि हुने वाला मुख्यमन्त्री, हुनेवाला प्रधानमन्त्री ।
सबै हुँदै गर्दा पनि हामी कता कता गुमाएको जस्तो कता कता डराएको जस्तो मैेले महसुस गरेको छु । केन्द्रीय समितिमा पाँच छ दिन बसेर सुन्दै गर्दा पनि मोटामोटी रिफ्लेक्सन त्यही पाएँ । यो स्वभाविक पनि हो । यहाँ पनि भाषा सुन्यौँ यस्तै पारा भए ८४ मा के हुन्छ । हेरौँला ।
हामी अप्ठेरोमा परिसक्यौँ भन्ने भनाइ पनि आएको छ । हामी संयुक्त रुपमा बसेर चिन्तन मन्थन गरिरहेका छौँ । केही कुरा गम्भीर लाग्ने बेला आयो है भन्ने पनि हो । सबै नेताहरुले सुनिराख्नु भएको छ ।
समस्याको सन्दर्भमा हाम्रा आफ्ना बुझाइ रहेका छन् । पुराना दलसँग मतदाता थाकेको भन्ने पनि आएको छ । विश्वभर त्यस्तै देखिन्छ । इलेक्ट्रोल ट्रेन्ड फरक हुँदै गएको छ । पुराना दलहरु ऐतिहासिक विरासतको कुरा गर्छन् । नयाँ पार्टीहरु नयाँ कुरा खोजिरहेका छन् ।