काठमाडौँ । पूर्व राष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) बीच छलफल भएको छ ।
राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटलाई तीव्र पारेकी विद्याले एकाएक महानगरका मेयरसँग छलफल गरेकी हुन् । दुवैबीच गत बिहीबार भेटघाट भएको बताइएको छ ।
एमालेका एक नेतालाई साथ लिएर गएका बालेनले विद्यासँग करिब एक घण्टा छलफल गरेका थिए । स्रोतका अनुसार बालेनलाई लिएर एमालेका सांसदले लिएर गएका थिए ।
भंगालस्थित पूर्व राष्ट्रपति निवासमा बालेन पुग्नुअघि नै एमालेका अन्य नेताहरुसमेत रहेको बुझिएको छ ।
बालेनसँग भएको कुराकानीमा महानगरको समस्याका विषयमा छलफल भएको बताइएको छ । एमालेकै कारण बालेनले काम गर्न नपाइरहेको गुनासो आइरहँदा बालेन र विद्याबीच छलफल भएको हो ।
यसलाई विभिन्न कोणबाट अर्थपूर्ण रुपले हेरिएको छ । विद्याले सहमतिमा अगाडि बढ्ने बाटो ल्याएको हुनसक्नेसमेत बुझिन्छ ।
अर्कातर्फ एमालेका कार्यकर्तादेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगसमेत कुनै तालमेल नभइरहेको सन्दर्भमा विद्यासँग कुराकानी हुनुले ठूलो अर्थ बोक्छ ।
विशेषगरी ओलीसँग पार्टीभित्र अलग धारणा राख्ने हिम्मत कसैले नराखिरहँदा विद्याले आफू राजनीतिमा फर्केको बताएसँगै अबको महाधिवेशनमा अध्यक्षकै लड्ने लगभग तयारी देखिएको छ ।
उनले गत असार १४ गते नै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन् । राजनीतिमा फर्केको बताएर उनले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधासमेत फिर्ता गरेकी थिइन् ।
विद्याले राजनीतिमा फर्केको घोषणा गरेसँगै एकाएक एमालेभित्र तरङ्ग आएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसलाई सामान्य रुपमा लिएको बताइए पनि आन्तरिक अन्तरसंघर्ष भने कडा हुँदै गएको बुझिन्छ ।
ओलीका कारण थिचोमिचोमा परेका वा आफूलाई कमजोर महसुस गरेका नेताहरु विद्यालाई सघाउन लागिपरेको बताइन्छ । यसले अबको एमाले महाधिवेशन रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
तर यसअघिका हरेक गतिविधिमा ओली र विद्याबीच तालमेल हुँदा विद्या एमाले उपाध्यक्ष, मन्त्री तथा दुई पटक राष्ट्रपति भइन् । अहिले तिनै विद्या ओलीको चाहना बिना वा चाहना भएर राजनीतिमा आएकी हुन् बुझ्न अलि कठिन छ ।
स्पेन भ्रमणमा जानुअघि मदन भण्डारीका बारेमा ओलीले राखेको भनाइले भने अबको एमालेको राजनीति अर्को अन्तरसंघर्षमा पुग्दैछ भनेर बुझ्न कठिन छैन ।