निजी क्षेत्रसँग मिलेर प्रसारण लाइन निर्माण गर्ने तयारीमा सरकार : मन्त्री खड्का
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
2.1k
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर प्रसारण लाइन निर्माण गर्ने गरी सरकार अघि बढेको बताएका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सबै ठाउँमा प्रसारण लाइनको सुनिश्चितता गरेर अघि बढ्ने गरी सरकार लागिपरेको जानकारी दिए।
मन्त्री खड्काले सरकारले एक्लै प्रसारण लाइन निर्माण गर्न नसक्ने ठानेर नै निजी क्षेत्रलाई पनि यसमा आबद्ध गराएको स्पष्ट पारे। "अहिले पनि हामी सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर, बजारको सुनिश्चितता हामीसँग छ। ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर हामी यस कामलाई अघि बढाइरहेका छौं," उनले भने, "यो 'टेक अर पे' मै हुन्छ। अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सकेन। त्यसैले हामीले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आबद्ध गरेर अघि बढाइसकेका छौं।"
उनले अब प्रसारण लाइनको समस्या नहुने विश्वास व्यक्त गर्दै विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको पनि बताए। मन्त्री खड्काले भने, "अलग ढंगले व्याख्या भएका कारणले केही दुविधा सिर्जना भएको हो। त्यो कुरा सम्बोधन भइसकेको छ। विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन। न मन्त्रालय र सरकारको धारणा छ, न समितिको।"
मन्त्री खड्काले यसअघि जलस्रोत विधेयक पनि टुङ्ग्याइएको स्मरण गर्दै अहिले नवीकरणीय ऊर्जा र विद्युत् विधेयकलाई एकैचोटि अघि बढाउनुपर्नेमा जोड दिए। उनले नवीकरणीय ऊर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यकता नभएको बताए। मन्त्री खड्काले नवीकरणीय ऊर्जा र विद्युत् विधेयकलाई समितिबाट छिटो पारित गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।