बालबालिकालाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
704
Shares
काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका देशको भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिका-८ ले आयोजना गरेको वातावरणमैत्री र बालमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने मुख्यमन्त्रीले उल्लेख गरे ।
उनले भने, ‘बालबालिकालाई हामीले सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिन सक्यौँ भने मात्र भोलिको समुन्नत समाज निर्माण सम्भव हुन्छ ।’
वातावरण संरक्षण र बाल अधिकार प्रवर्द्धनलाई परस्पर पूरक विषयका रूपमा जोड्दै स्वस्थ वातावरणमा हुर्कने बालबालिका नै समुन्नत राष्ट्र निर्माणका संवाहक हुने मुख्यमन्त्रीले बताए ।
कर्णाली प्रदेश सरकारले बालमैत्री समाज निर्माणका लागि नीति, बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखी बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षित हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकास ध्यान दिने मुख्यमन्त्रीले बताए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।