सशस्त्र प्रहरीद्वारा १८ लाख बढीका भन्सार छलेका कपडा बरामद
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
580
Shares
वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३ सय ५५ रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार, ती कपडा बिहीबार वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया र नदिया टोलका गोदामहरूबाट बरामद गरिएका हुन्। बरामद गरिएका सामग्रीहरू बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार ८ सय ९० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरेको सिंहले जानकारी दिए।
उनका अनुसार, "भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४ सय ८७ रुपैयाँ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ।" साथै, सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४ सय ३ रुपैयाँ मूल्य बराबरका सामग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको उनले बताए।