नौ वर्षपछि काठेखोला गाउँपालिकाको केन्द्र टुङ्गियो, आफ्नै भवन निर्माणको बाटो खुल्यो
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
761
Shares
गलकोट (बागलुङ)। विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले नौ वर्ष लामो प्रतीक्षापछि बल्ल गाउँपालिकाको केन्द्र सर्वसम्मत रूपमै टुङ्गो लगाएको छ। काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलहरूको सहमतिमा बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो।
बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा काठेखोला गाउँपालिका भने केन्द्र विवादका कारण प्रशासकीय भवन निर्माण गर्न सकेको थिएन। भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका मासिक ६० हजार रुपैयाँ भाडा तिरेर भाडाकै घरमा सञ्चालनमा हुँदै आएको थियो। सुरुमा काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडामा स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिहरूको मत बाँझिदा समस्या भएको थियो।
यही असार १० गते बसेको १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो। मतदानका क्रममा समेत अक्षते र सुल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन। अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो। ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए।
बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर विवाद समाधान गरिएको हो। उक्त बैठकले पालिकाको प्रशासनिक केन्द्र अक्षते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमति गरेपछि बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।
अध्यक्ष थापाका अनुसार, "स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ, आमपाटामा स्थानीयले छ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्, आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ।" उनले राजनीतिक दलहरूको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको बताए।
गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ, जसले गर्दा हरेक वर्ष सात लाखभन्दा बढी घरभाडा तिर्दै आएको थियो। अब आफ्नै भवन निर्माण हुने भएपछि यो आर्थिक भार कम हुनेछ।