नेपाली बैंकलाई विदेशमा शाखा खोल्न दिनुपर्छ -विनोद चौधरी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
713
Shares
काठमाडौँ। नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया (बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन) विधेयकमाथि भएको दफाबार छलफलमा उनले हालको बाफियाले यस विषयलाई नसमेटेको भन्दै पुनःलेखन गरी सोसम्बन्धी व्यवस्था राख्नुपर्नेमा जोड दिए।
सांसद चौधरीले नेपालीहरूको बाहुल्य रहेका अस्ट्रेलिया र मलेसियाजस्ता मुलुकहरूमा नेपाली बैंकका शाखा खोल्न दिनुपर्ने बताए। उनले प्रश्न गरे, "नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु?"
उनले भने, "बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ। अहिले धेरै परिवर्तन भइसकेको छ। बाफिया फिर्ता पठाउनुपर्छ। नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ। नेपालका बैंकलाई बाहिरसमेत जान दिनुपर्छ। अस्ट्रेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ।"
सांसद चौधरीका अनुसार, अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ। बैंकहरूसँग भएको रकम लगानी हुन सकिरहेको छैन। उनले बैंकर्स र उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै, बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्नेमा जोड दिए।