झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन – एमाले
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
3.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भएपछि संघीय निजामती सेवा विधेयकलाई अस्वीकार गर्ने जनाएको छ ।
सभामुख देवराज घिमिरेसँग राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासहित भएको छलफलपछि नेकपा एमालेले सो बारेमा सभामुखलाई जानकारी गराएको छ ।
‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ तर मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको गम्भीर उपहाससमेत हो । यो घटनाले सार्वभौम संसद् र समितिलाईसमेत धूलिसात बनाउनेका काम भयो,’ बैठकमा सहभागी नेकपा एमालेका सांसद पदम गिरीले भने । उनका अनुसार एमालेले हालै प्रतिनिधि सभाबाट पारित भएको सो विधेयक स्वीकार नगर्ने जानकारी दिएको छ ।
पारित भएको विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । राज्यव्यवस्था समितिमा यही सहमति भएको थियो ।
त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योद्घाटन भएको हो ।
विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधि सभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो ।
त्यसमा थप एक वाक्य थपिएको खुलेपछि अहिले तीव्र आलोचना भइरहेको छ ।