वर्षौँदेखिको बारा कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानउन्मुख, सात बुँदे सहमति
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
3.3k
Shares
काठमाडौँ । वर्षौंदेखिको नेपाली कांग्रेस बारा जिल्लाको क्रियाशील सदस्यता विवाद समाधानउन्मुख भएको छ ।
आज नेपाली कांग्रेसको केन्द्रीय प्रतिनिधि एवं पूर्व केन्द्रीय उपसभापति विमलेन्द्र निधीको अध्यक्षतामा उनकै निजी निवासमा बसेको बैठकमा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी, बारा जिल्ला सभापति राजेश राय यादव, क्षेत्रीय सभापतिहरु विजयशंकर यादव, रामप्रवेश यादव, प्रभातकुमार चौरसिया र सुनीलकुमार गुप्ताको सहभागितामा सर्वसम्मतिले सात बुँदे सहमति भएको हो ।
यो सहमतिसँगै बाराको समस्या समाधान हुने विश्वास लिइएको छ । कांग्रेसको आजदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक सकिएलगत्तै बाराको क्रियाशील सदस्यता विवाद समाधान हुने क्षेत्रीय सभापति विजयशंकर यादवले बताए ।
उनले आज निकै महत्वपूर्ण सहमति भएको भन्दै अगाडि भने, ‘केन्द्रीय कार्यसमिति बैठक सकिएपछि यो समस्याको समाधान हुने विश्वास लिएको छु ।’
बारामा पार्टीको १३ औँ महाधिवेशनपछि क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन ।
सहमति अनुसार केन्द्रबाट जिल्लामा गएको पुरानो क्रियाशील सदस्यताको सूची र नवीकरण फारमहरुलाई प्रक्रियाअनुसार नवीकरण गर्ने गराउने, १४ औँ महाधिवेशनको बेलामा बारा जिल्लामा रहेको १६ वटा पालिकामा जुन जुन वडाको क्रियाशील सदस्यता फारम स्थगित रहेको थियो सोबारे केन्द्रीय छानबिन समितिले १५ औँ महाधिवेशनमा भाग लिने गरी गरेको निर्णय अनुसारको नामावलीका सूचीहरु केन्द्रीय कार्यालयबाट तत्काल प्राप्त गरी प्रक्रिया पुर्याइ नवीकरण कार्य सम्पन्न गर्ने गराउने, क्षेत्र नम्बर १ मा क्रियाशील सदस्य नवीकरणको लागि फारम वितरण भएको अवस्था रहेकोमा अब तत्काल प्रक्रिया अनुसार वडा तहसम्म वितरण गर्ने गराउने रहेको छ ।
त्यस्तै क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति कहाँ फारमहरु पुगेको तर वडा तहसम्म वितरण हुन बाँकी रहेकाले अब तत्काल प्रक्रिया अनुसार वडातहसम्म वितरण गर्ने गराउने, क्षेत्र नम्बर ३ मा वडातहसम्म वितरण भएका अवस्था रहेकोमा अब प्रक्रिया अनुसार तत्काल सम्पन्ने गर्ने गराउने, क्षेत्र नम्बर ४ मा वडातहसम्म वितरण भैसकेको अवस्थामा अब तत्काल प्रक्रिया अनुसार सम्पन्न गर्ने गराउने रहेका छन् ।