arrow

छायानाथ राराको नीतिः भूमि बैंक स्थापनादेखि सुनौलो शुक्रबारसम्म

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८२ असार १० मंगलबार
chayanath-budger-2082.jpg

मुगु । मुगु जिल्लामा रहेको छायानाथ रारा नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा आयोजित छायानाथ रारा नगरपालिकाको १७ औँ नगरसभामा नगरप्रमुख विष्णुकुमार भामले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममा आगामी वर्ष भूमि बैंक स्थापना गर्ने नीति लिएको बताइएको हो ।

नगरभित्र रहेका खेतीयोग्य जमीनहरु दिन प्रतिदिन बाँझो हुँदै गएकाले भूमि बैंकको स्थापना गरेर खेती गर्ने इच्छा भएका,उधमी, व्यवसायी बन्न इच्छुक व्यक्तिहरुलाई खेती गर्न वितरण गरिने र यो नीतिले कृषिमा युवालाई आकर्षित गरी विदेशिने चलन रोक्ने दीर्घकालीन लक्ष्य नगरपालिकाको रहेको नगरप्रमुख भामले बताए । 

प्रस्तुत नीति तथा कार्यक्रम अनुसार नगरपालिकाका प्रमुख प्राथमिकताका क्षेत्रहरुमा सुधारिएका सडक, कृषि यान्त्रिकरण र व्यवसायीकरण, शिक्षा क्षेत्रको गुणात्मक सुधार, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा, सूचना तथा प्रविधिको विकास, उद्यम र रोजगारीको अवसर, विपत व्यवस्थापन, पर्यटक प्रवर्द्धनमा जोड, खानेपानी तथा सरसफाइ, लैंगिक तथा सामाजिक समावेशीकरण र खेलकुद गतिविधि रहेको बताइएको छ ।

विगत वर्षहरुकै धेरै नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिइएको भए पनि भूमि बैंक स्थापना, सुनौलो शुक्रबार, उपप्रमुख एकल महिला कार्यक्रम, एक रात गमगढी बास, महिनाको एक दिन शैक्षिक बहस, खुलामञ्च रंगशाला निर्माण, १० शैयाको नगर अस्पताल संचालन, स्थानीय संचारमाध्यमलाई अनुदान, आगलागी नियन्त्रणका लागि दमकल खरिद जस्ता नीति तथा कार्यक्रम प्रस्तुत नीति तथा कार्यक्रममा नयाँ आएका छन् ।

नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा सम्पन्न भएको छायानाथ रारा नगरपालिकाको १७ औँ नगरसभामा प्रदेश क बाट कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्ल, समन्वय प्रमुख मन्जन बहादुर कार्की, समन्वय उपप्रमुख नैली कार्की र नगर उपप्रमुख ऎश्वर्य मल्ल उपस्थित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ