arrow

बाँदर बगैँचादेखि ‘किसान परिचयपत्र’सम्म: जैमिनी नगरपालिकाको कृषि रूपान्तरणको नीति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
monkey-badar.jpg

बलेवा (बागलुङ)। बागलुङको जैमिनी नगरपालिकाले तीन वर्षदेखि चर्चामा रहेको बाँदर बगैँचा निर्माणको काम थाल्ने भएको छ। १७ औँ नगरसभा तथा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी रहेकोमा जोड दिएका छन्। बाँदरकै कारण किसानले बस्ती छाड्नुपरेको, उत्पादकत्व घटेको र जमिन बाँझो राख्न थालेपछि वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने नीति नगरपालिकाले लिएको हो। वन ऐन र वन्यजन्तुसम्बन्धी कानुनले यो काम रोकिएको भए पनि संघीय सरकारले बाँदरलाई कृषिको हानिकारक वन्यजन्तुमा राख्ने भएपछि नगरपालिकाले यो नीति ल्याएको हो।

जैमिनी नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न पशुपालनतर्फ बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ। दुग्धजन्य परिकारलाई मूल्य शृङ्खलामा जोडेर बन्द रहेका फार्महरूलाई पुनः सञ्चालनमा ल्याउन प्रोत्साहन गरिने भएको छ। यसका लागि ‘निःशुल्क नश्ल सुधार, दूध उत्पादनको आधार’ भन्ने नारा तय गरिएको छ। दूध उत्पादन र बिक्रीमा नगरपालिकाले अनुदान पनि दिने भएको छ।

कृषि क्षेत्रमा आकर्षण बढाउन र किसानलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने नीति लिएको छ। सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिइने र जैमिनीलाई सबै किसान सूचीकरण भएको पालिका बनाउने नगरप्रमुख पुनको नीतिमा उल्लेख छ। ‘सेरा जाऔँ केरा खाऔँ’ को निरन्तरतासहित सुन्तला पकेट र बाख्रा जोनलगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। कृषि र पशुपालनमा धेरै किसान जोडिएकाले उनीहरूलाई प्राविधिक सीप, अनुदान र बजारीकरणका लागि किसान सूचीकरण आवश्यक भएको पुनले बताए।

किसानकै लागि नीतिमा सबैभन्दा धेरै बुँदा समावेश छन्। अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याइएको छ। हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यातको लागि तयारी गर्ने जैमिनीको योजना छ।

गत वर्ष नै सुरु गर्ने भनिएको कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति पनि आएको छ। उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार, खोप, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनलाई बजार पठाउनेसम्मका काममा नगरले किसानलाई साथ दिने भएको छ।

परम्परागत बालीको उत्पादन बढाउने नीति पनि नगरको छ। सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरोलगायतका उत्पादनको लेबलिङ र प्याकेजिङ गरिने नीतिमा उल्लेख छ।

शिक्षाको गुणस्तर बढाउन लिड स्कुलमार्फत पढाइ सञ्चालन गर्ने नीति लिइएको छ। स्वास्थ्यतर्फ सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाका बिरामीलाई हेलीउद्धार गर्न सबै वडामा हेलिप्याड बनाउने योजना छ। १० वटा वडा रहेको जैमिनीमा अघिल्लो वर्ष नै तीनवटा वडामा पक्की हेलिप्याड बनाइसकिएको छ।

सामाजिक क्षेत्रमा, छोरी जन्मेमा जन्मदर्ता गर्दा २ हजार ५०० रुपैयाँको खाता खोलिदिने नीति पनि नगरले ल्याएको छ। नगरउपप्रमुख हरिहर शर्माले बजेटमा सुनिश्चितता गरेर उक्त नीति ल्याएको बताए। पूर्वाधारतर्फ, १३ दिगो सडकलाई निरन्तरता दिने, बसपार्क निर्माण गर्ने, अलपत्र परेको प्रशासकीय भवन सक्ने, र सबै वडा कार्यालय निर्माण गरेर आफ्नै भवनबाट सेवा दिने नीति पनि लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ