‘हाम्रै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको छ’: चित्रबहादुर केसी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
1.6k
Shares
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद जुन रूपमा चल्नुपर्ने हो, त्यसरी चल्न नसकेकोमा चिन्ता व्यक्त गरे।
अध्यक्ष केसीले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा गोटी बनेर हिँड्दा दिनप्रतिदिन इज्जत क्षय हुँदै जाने बताए।
"नयाँ पिँढीलाई दुईवटा रोग छ। यहाँ केही हुन्न," उनले भने, "यो सङ्घीय प्रणाली नेपालको प्रगतिको लागि, नेपाली जनताको उन्नतिको लागि ल्याइएकै होइन।" उनले सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै सङ्घीयताका कारण देश अन्तै विलीन हुन्छ कि भन्ने डर आफूलाई पनि लागेको बताए।
केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे। उनले लाखौँ युवाहरू विदेशिएका र उनीहरू पैसा लिएर भेडाबाख्रा जसरी बेचिएको जिकिर गरे।
अध्यक्ष केसीले सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि बताए।