arrow

राष्ट्र बैंकद्वारा सोमबार ६० अर्ब निक्षेप खिच्ने तयारी, तरलता व्यवस्थापनमा निरन्तर पहल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
rastra-bank-always-81-4-11.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) बैंकिङ प्रणालीमा रहेको ६० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उक्त रकम खिच्न लागेको हो। चालू आर्थिक वर्ष २०८१/८२ को सुरुवातमै बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले निरन्तर तरलता खिच्ने काम गरिरहेको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार, कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यो बढ्दो निक्षेपलाई व्यवस्थापन गर्न सोमबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। सोमबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८२ साउन १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ, भने अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

बैंकहरूमा ठूलो मात्रामा निक्षेप थुप्रिए पनि त्यो लगानीमा परिणत हुन सकिरहेको छैन। लगानीकर्ताको आत्मविश्वासमा अझै कमी रहेको र बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि यो अवस्था पुष्टि गरेको छ। कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रणालीबाट रकम खिच्दै आएको छ।

राष्ट्र बैंकले प्रणालीमा पुँजी धेरै हुँदा मात्र नभई कम हुँदा पनि मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। गत साता पनि राष्ट्र बैंकले एकै दिन ९० अर्ब रुपैयाँ खिचेको थियो। केन्द्रीय बैंकले रिभर्स रिपो, निक्षेप संकलन, आउटराइट सेल र बन्डजस्ता उपकरणहरूमार्फत प्रणालीमा अधिक भएको रकम खिच्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ