गुल्मी। गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुल्न सकेको छैन। लगातारको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन्।
कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकको गरगरे खण्डमा शुक्रबार दिउँसोदेखि पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। यसले गर्दा गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधनहरू बीचबाटोमै अलपत्र परेका छन्।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार, पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि लगातार पहिरो खसिरहेकाले सडक सञ्चालन गर्न समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोली खटाइएको छ। उनले यात्रीहरूलाई हर्मीचौर माथिबाट देउराली हुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्। पहिरो झर्ने क्रम नरोकिएका कारण आज केलुकीसम्म पनि उक्त सडक सञ्चालन हुन नसक्ने अवस्था रहेको सारुले बताए।
गाउँपालिका अध्यक्ष थापाले लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको बताए। "सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ," उनले भने।
सडक खुलाउनका लागि प्रयास जारी रहे पनि पहिरो खसिरहेकाले तत्काल सडक खुल्ने सम्भावना कम देखिएको छ।