arrow

नेपालमा चौथो औद्योगिक क्रान्ति 'स्टिम' शिक्षामा प्रविधि

logo
डा सुरजराज काफ्ले, 
प्रकाशित २०८२ असार ७ शनिबार
surajraj-kafle-82-3-7.jpg

आज विश्व अर्थतन्त्र एक मौलिक मोडमा उभिएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल), स्वचालन, र डेटा एनालिटिक्सले रोजगारी, उद्योग र उत्पादन प्रणालीमा आमूल परिवर्तन ल्याउँदै छ ।

विकसित मुलुकहरू यी प्रविधिहरुको अग्रपंक्तिमा रहँदै गर्दा नेपालजस्ता विकासोन्मुख देशहरू भने यस्ता अवसरहरुबाट पछि परिरहनु परेको छ ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको प्रयोग दिनानुदिन बढ्दो क्रममा रहेता पनि जुन रफ्तारमा  डिजिटल क्रान्तिले छलाङ मार्नु पर्ने हो त्यो हुन सकिराखेको छैन । केही हदसम्म काठमाडौँ र पोखरा जस्ता सहरमा स्टार्ट-अपहरू फस्टाउँदै नगएका पनि होइनन् । गैरहेकै पनि छन् । 

विशेषगरी एआई, डेटा एनालिटिक्स, साइबर सुरक्षा र स्वचालन जस्ता क्षेत्रमा स्टाटअपको जग नयाँ रोजगारी सिर्जनामा जम्दै गैरहेको देखिन्छ । तर प्रविधिको यो तीव्र विकासको माहोलमा नेपालको शिक्षा प्रणालीले खेल्नुपर्ने भूमिका खासगरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा ठूला चुनौतीहरुको सामना गरिरहनु परेको छ ।

नेपालको श्रम बजारमा ३५ प्रतिशत युवा बेरोजगार वा अर्ध-रोजगारको अवस्थामा छन् । यो तथ्याङ्कले लाखौँ परिवारको आर्थिक सपना र राष्ट्रिय विकासको गतिलाई अवरुद्ध गरिरहेको छ । यसको मूल कारण नेपालको परम्परागत शिक्षण पद्धति र पाठ्यक्रम हो । जुन अझै पनि परीक्षामुखी र सैद्धान्तिक ज्ञानमा सीमित छ । तसर्थ स्टिम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) शिक्षाले नेपालको शिक्षा क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ ?  यसले प्रविधि र मानव संसाधन विकासलाई कसरी पुन:परिभाषित गर्न सक्छ ? यी प्रश्नहरूको जवाफ तथ्य, उदाहरण, र विश्लेषणसहित यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा चौथो औद्योगिक क्रान्ति भनेको के हो ?

उच्च प्रविधिहरू – जस्तै कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (आईओटी), ब्लकचेन तथा जैविकीय प्रविधिको प्रयोगमार्फत नेपालको आर्थिक, सामाजिक र औद्योगिक संरचनामा आमूल परिवर्तन ल्याउने हो । यस्तो परिवर्तनलाई सफलतापूर्वक आत्मसात् गर्न स्टिम शिक्षा अत्यन्त आवश्यक छ । 

यसले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, प्रविधिमा दक्षता र अन्तर-विषयगत ज्ञान प्रदान गर्छ । जुन भविष्यको रोजगारीका लागि ठूलो अवसर हुन जान्छ । 

 नेपालमा चौथो औद्योगिक क्रान्तिको सम्भावना बढ्दो इन्टरनेट पहुँच, मोबाइल प्रविधिबाट बहुआयामिक ज्ञान, तथा नवप्रवर्तनशील युवा पुस्ताको उत्पादन र विकाससँग जोडिएको छ । यसका लागि शिक्षामा नीतिगत सुधार, प्रविधिमैत्री पूर्वाधार र उद्यमशीलतालाई प्रोत्साहन दिनु अत्यावश्यक छ । यहाँ  स्टिम शिक्षा यस क्रान्तिको मेरुदण्ड हो। जसले हामीलाई  विश्व प्रविधि प्रतिस्पर्धामा टिक्न सक्ने बनाउँछ ।

स्टिम शिक्षा के हो ?

स्टिम शिक्षा केवल एक पाठ्यक्रम होइन, सैद्धान्तिक ज्ञान र रटन्ते शिक्षामा आधारित पनि छैन। यो त,  प्रयोगात्मक सिकाइ, नवप्रवर्तनशील सोच र समस्या समाधानको क्षमता विकासमा जोड दिने शैक्षिक ज्ञान हो । विज्ञान र प्रविधिको संयोजनमा कला र गणित लाई समावेश गरी यो शिक्षाले बहुआयामिक सीप प्रदान गर्दछ । जुन आजको विश्व बजारमा अपरिहार्य छ। एआई  युगमा प्राविधिक ज्ञान मात्र पर्याप्त छैन। 

यसको प्रणालीलाई सुरक्षित, न्यायसंगत, र मानव-केन्द्रित बनाउन नैतिकता, तर्कशक्ति, र विविध विषयको अन्तरसम्बन्धित बुझाइ आवश्यक पर्छ। उदाहरणका लागि, गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले एआई डेभलपमेन्ट सँग-सँगै नैतिकता र सामाजिक प्रभाव बुझ्ने विशेषज्ञहरूको पनि माग गरिरहेका हुन्छन् । जुन स्टिम शिक्षाको जगमा मात्र उपलब्ध हुन‌सक्छ। 

यसले बहुआयामिक सीप विकास गर्ने, जसले विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउँन सक्छ । नेपालको सन्दर्भमा त स्टिम शिक्षाको आवश्यकता झन बड्दै गएको छ। यहाँको  शिक्षा प्रणालीले हालका वर्षहरूमा केही सुधार गरे पनि यो अझै २१औं शताब्दीको मागअनुसारको पाठ्यक्रम हुन सकिराखेको छैन। 

फेरि अहिलेको बिधार्थीहरुको अध्ययनको माग भनेको डेटा विश्लेषण, कोडिङ, एआई डिजाइन वा डिजिटल व्यापार विकास जस्ता आधुनिक बिज्ञानहरु हुन् । जस्लाई नेपालको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र परम्परागत हस्तकला सँग जोडेर नयाँ आर्थिक अवसरहरु सिर्जना गर्ने आधारहरूमा जोडेर उदाहरणिय बन्न सकिन्छ । जस्तै, नेपाली थाङ्का कला वा हस्तकलालाई एआईमा आधारित डिजाइन, मेटाभर्स वा अनलाइन बजार मार्फत विश्वसामु पुर्याउन सकिन्छ। यसले स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै आर्थिक लाभ प्रदान गर्न टेवा दिन्छ।

त्यस्तै, नेपालको भौगोलिक विविधतामा स्थानीय समस्याहरू समाधान गर्न प्रविधिको प्रयोग गर्न सकिन्छ। मौसम पूर्वानुमान प्रणालीले किसानहरूलाई उत्पादन योजना बनाउन सहयोग गर्न सक्छ। ड्रोन प्रविधिले हिमाली क्षेत्रमा बिउ र औषधि आपूर्ति सहज बनाउन सक्छ। भूकम्प पूर्वचेतावनी प्रणाली र आपतकालीन व्यवस्थापनमा पनि प्रविधिको उपयोगले ठूलो प्रभाव पार्न सक्छ। यी सबै क्षेत्रमा स्टिम शिक्षाको आबस्यकता छ जस्का लागि हालको चौथो औद्योगिक क्रान्तिले गरेका आविस्कार लाई स्टिम का बूँदा-बूँदामा लगेर जोड्न सक्नु पर्यो । जस्को निम्ति बिषयगत नेत्रित्व चनाखो र सबल हुनु पर्यो। याने, दुरदर्शिता अपरिहार्य छ ।

स्टिम शिक्षाको कार्यान्वयन कसरी हुन्छ ?
नेपालमा स्टिम शिक्षाको महत्व बुझ्ने क्रम शुरू भए पनि यसको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण छ। ग्रामीण क्षेत्रमा इन्टरनेट र डिजिटल उपकरणको पहुँच सीमित छ। शिक्षकहरूमा स्टिम सम्बन्धी दक्षताको कमी छ।

राष्ट्रिय शिक्षानीतिले स्टिम लाई प्राथमिकतामा राखे पनि पाठ्यक्रम अद्यावधिक गर्ने र नीतिगत सुधारमा  ढिलाइ भैरहेको छ।उदाहरणका लागि, नेपालको ग्रामीण विद्यालयहरूमा कम्प्युटर ल्याबको अभाव छ र भएका ठाउँमा पनि शिक्षकहरू प्रविधि प्रयोगमा अभ्यस्त छैनन्। 

तसर्थ यो समस्यालाई समाधान गर्न शिक्षक तालिम, डिजिटल पूर्वाधार विस्तार र निजी-सरकारी साझेदारी आवश्यक छ। यस्तै गरि, यी विषयहरु बीचको अन्तरसम्बन्धलाई एकीकृत ढंगले समावेश गरि रचनात्मक शिक्षण विधिहरू मार्फत विद्यार्थीलाई व्यवहारिक सीप सिकाउने वातावरण बनाउन आवश्यक छ।

यस्तै गरी यस्को कार्यान्वयनका लागि शिक्षक मार्फत प्रविधिको प्रयोग, अन्तर-विषयगत सहकार्य र स्थानीय बिकासका आवस्यकतामा आधारित शिक्षण सामाग्रीको विकास गरिनुपर्छ। 

साथै स्टिम शिक्षाका लागि आवश्यक प्रयोगशाला, उपकरण र तालिमप्राप्त शिक्षकको सुनिश्चितता अनिवार्य छ । यस्तो शिक्षाले नवप्रवर्तनशील सोच, नेतृत्व क्षमता र उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग मिल्दै जाने छ ।

अर्को चुरो कुरा, स्टिम शिक्षाको प्रस्ट नीति, रणनीति र कार्यनीति तय हुनु जरुरी छ । जस्मा २१ औ सताब्दी मैत्रि सीप बिकास गर्न बनाइएको राष्ट्रिय मार्गदर्शक नीति हुनु पर्यो ।

जस्लाई कार्यान्वयन गर्न बनाइने योजना जस्तै पाठ्यक्रममा स्टिम विषय समावेश गर्ने, शिक्षकलाई आवश्यक तालिम दिने, प्रविधिमैत्री पूर्वाधार विकास गर्ने जस्ता पहलहरू रणनीति  र विद्यालय, शिक्षक तथा समुदायस्तरमा ती रणनीतिहरूलाई व्यवहारमा उतार्ने क्रियाकलापहरू—जस्तै परियोजनामूलक शिक्षण, समस्या समाधानमूलक गतिविधि सञ्चालन र स्थान अनुसारको स्रोत र साधनहरुको उचित ढङले प्रयोग गर्ने कार्यहरू कार्य योजनामा पर्दछन्।

स्टिमलाई प्रविधि सँग जोड्ने तरिका के हो  ?

स्टिमका प्रत्येक विषयहरु, विषयका  शाखाहरू प्र-शाखाहरुलाई केलाएर प्राविधिक उपकरण र प्लेटफर्म जडान गरेर  शिक्षणलाई नबप्रबर्धनकारी बनाउन सकिन्छ ।

जस्तै विज्ञानमा डिजिटल माइक्रोस्कोप, सिमुलेशन सफ्टवेयर, डाटा एनालिटिक्स जडान गर्ने, इन्जिनियरिङमा क्याड सफ्टवेयर, ३डी प्रिन्टर, आईओटी एप्लिकेसन प्रयोग गर्ने, आर्टसमा डिजीटल डिजाइन, एनिमेसन सफ्टवेयर, भर्चूयल रियालिटी छन् भने गणितमा डाइनामिक जियोमेट्रिक सफ्टवेयर, एआइमा आधारित समस्या समाधान गर्ने विधिहरु उदाहरण मात्र हुन् । यीलगायत अन्य उपायहरुबाट स्टिमलाई हामी प्रविधिसँग जोड्न सक्छौँ ।

हामीले स्टिमको पाठ्यक्रमलाई उदाउँदो प्रविधिको ज्ञानमाथि केन्द्रित बनाउन सक्नुपर्छ। जसले गर्दा विद्यार्थीहरुले स्टिमको प्रत्येक पक्षमा यी प्रविधिहरूको आधारभूत सिद्धान्त, प्रयोग र भविष्यको सम्भावनाहरू बुझ्ने अवसर पाउँनसकुन। किनकि प्रविधिहरुले शिक्षण सिकाइ प्रक्रियालाई अन्तरक्रियात्मक, उदयमान र जीवन उपयोगि बनाउँछ। तसर्थ, भर्चूयल ल्याब, आर्गुमेन्टेड रियालिटी (एआर) र भर्चुयल रियालिटी (भीआर), एआई-पाओर्ड पर्सनलाइज मनिटरिङ  प्ल्याटफमहरु स्टिमलाई प्रविधिसँग जोड्ने माध्यमहरु हुन्। यस्तै कोडिङ र प्रोगामिङ  (पाइथोन, जाभा आदि ), डाटा विष्लेषण, क्लाउड कम्प्युटिङ, डिजिटल सहकार्य जस्ता उपकरणहरू लाई स्टिममा जोड्न सकिन्छ ।

स्मार्ट सिटी डिजाइन (इन्जिनियरिङ + प्रविधि + आर्टस),जलवायु परिवर्तन मोडलिङ (विज्ञान + डाटा बिष्लेषण  + प्रविधि), हेल्थ इन्फरमेटिक्स(जीव विज्ञान + डाटा विज्ञान + एआई ) जस्ता अत्याधुनिक सफ्टवेयरहरुलाई  स्टिमलाई प्रविधिसँग जोड्न सकिन्छ ।

अन्त्यमा, नेपाल अहिले ऐतिहासिक मोडमा छ। कृत्रिम बुद्धिमत्ता र प्रविधि विश्वभर तीव्र गतिमा अघि बढिरहेका छन्। नेपालसामु दुई विकल्प छन्— या त यो दौडमा पछाडि परिरहने, वा आफ्नो जनशक्ति र स्रोतलाई प्रविधिको मूलधारमा जोड्ने। स्टिम शिक्षामा लगानी गर्नु भनेको केवल नयाँ पाठ्यक्रम बनाउनु मात्र होइन, यो राष्ट्रको भावी समृद्धि र नवप्रवर्तनको आधारशिला खडा गर्ने काम हो । 

अब यो अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी सरकार, निजी क्षेत्र, र समाजको काँधमा छ। स्टिम शिक्षाको जगमा प्रविधियुक्त मानव संसाधन विकास गरेर नेपालले विश्व बजारमा आफ्नो स्थान सुरक्षित गर्न सक्छ। यो केवल सम्भावना होइन, यो हाम्रो भविष्यको आवश्यकता हो। 

नेपालले प्रविधिलाई स्टिम शिक्षाको केन्द्रमा राखेर मात्र चौथो औद्योगिक क्रान्तिको अवसर सम्हाल्न सक्छ। यसले शिक्षा प्रणालीलाई मात्र होइन, समग्र अर्थतन्त्र र समाजलाई प्रतिस्पर्धी बनाउनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ