‘स्थानीय तह सरकार होइन’ भन्ने मानसिकता त्याग्नुपर्छ: कृष्ण सिटौला
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.5k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले स्थानीय तहलाई सरकार नभएको मानसिकताबाट अघि बढ्न नहुनेमा जोड दिएका छन्। शुक्रबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको र त्यसमा संघ, प्रदेश र स्थानीय तह रहेको स्पष्ट पारे।
सांसद सिटौलाले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल संरचनाका रूपमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गरेको बताए। उनले संविधानले तीनै तहमा कार्यपालिका र व्यवस्थापिका रहने व्यवस्था गरेको उल्लेख गर्दै भने, "संघीय कार्यपालिका, संघीय व्यवस्थापिका, प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका भनेर लेखिसकेको छ।"
उनले कानुन निर्माणका सन्दर्भमा पनि संवैधानिक सीमाबारे स्मरण गराए। सिटौलाले संघसँग बाझिने गरी प्रदेशले कानुन बनाउन नसक्ने र प्रदेशसँग बाझिने गरी स्थानीय सरकारले कानुन बनाउन नसक्ने जिकिर गरे। "संविधानअनुकूल नै कानुन निर्माण गर्ने हो हामीले। संविधान विपरीत हामी जान सक्दैनौँ। स्थानीय तह सरकार होइन भन्ने कन्सेप्टमा हामी जानु भएन," उनले भने।
समितिमा हाल 'केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०' माथि दफावार छलफल जारी छ।