इजरायल–इरान युद्धको विरोधमा शान्ति समाजको काठमाडौँमा प्रदर्शन [भिडियो]
संस्थापक सभापति पहाडीको जोड: 'मानवअधिकारको सम्मान र कूटनीति अँगालौँ'
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
677
Shares
काठमाडौं। मध्यपूर्वमा इजरायल र इरानबीचको युद्ध चर्किएसँगै मानवअधिकार तथा शान्ति समाजले युद्धको अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। समाजले बुधबार काठमाडौंस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावास अगाडि शान्तिको कामना गर्दै आधा–आधा घण्टा प्रदर्शन गरेको हो।
समाजका सभापति रेनुका पौडेलले आफूहरू संसारको जुनसुकै कुनामा भएको युद्धबारे पनि चुप नबस्ने बताएकी छन्। उनले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको जानकारी दिइन्।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने र लोकतन्त्र बहाली गर्नुपर्नेमा जोड दिए। उनले त्यसो नहुँदा इरान एक्लो भएको बताए। पहाडीले इजरायलले पहिले यो युद्ध सुरु गरेकाले शान्तिका लागि पहल पनि इजरायलले नै गर्नुपर्ने तर्क गरे।
"हाम्रो नारा छ, कुटनीति ग्रहण गर, युद्धलाई टार," उनले भने। पहाडीले युद्ध रोक्नका लागि संयुक्त राष्ट्रसङ्घसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाए। उनले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गरे।
मानव अधिकारकर्मीहरूले प्रदर्शनका क्रममा 'युद्ध रोक', 'शान्ति कायम गर', 'युद्ध मानवताको अपमान हो' लगायतका प्लेकार्ड बोकेका थिए।