जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
3.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ (क) को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन-जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले तिनलाई समेट्ने छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको बताए ।
साथै उनले अल्फा जेनेरेसनका लागि पनि दीर्घकालीन दृष्टिका साथ शैक्षिक, सन्देशमुलक र नेतृत्व विकासका कार्यक्रमहरू तय गर्नुपर्ने बताए । नेता शिवाकोटीले सम्मेलनको प्रशिक्षण कार्यक्रममा "प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग" विषयमा प्रशिक्षण दिएका थिए ।
शिवाकोटीले झुटा समाचार (फेक न्युज) र गलत सूचनाको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ताहरूको पंक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताउँदै यस्ता सूचनाको वैज्ञानिक, संयमित र तथ्यमा आधारित खण्डन गर्नुपर्नेमा जोड दिए ।
शिवाकोटीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमार्फत पार्टीका नीतिहरू जनमानसमा प्रभावकारी रूपमा पुर्याउन सकिने धारणा राख्दै कार्यकर्ताहरूलाई सचेत, रचनात्मक र सत्यनिष्ठ हुन आग्रह गरे । उनले भने, "अबको प्रतिस्पर्धा केवल सडकमा मात्र होइन, स्क्रिन र सोचमा पनि हो। हामीले तथ्य र विश्वासका माध्यमबाट जनताको मन जित्नुपर्छ ।"
कार्यक्रममा कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए। उनले पार्टीको कार्यगत समन्वय, नीतिगत प्रभावकारिता र राजनीतिक जवाफदेहिताबारे विस्तृत धारणा राखेका थिए ।
सम्मेलनमा संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, नयाँ पुस्तासँगको संवाद, र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेको कांग्रेस काठमाडौं क्षेत्र नं. ६ (क) का सभापति ख्याम तिवारीले जानकारी दिए ।