arrow

महाधिवेशनमा ढिलाइ

कांग्रेस महाधिवेशन ०८३ मंसिर अगावै हुन्छ - गगन थापा [भिडियो]

'अदालतले महाधिवेशन सार्न दिँदैन, गुटबन्दी अन्त्यका लागि प्रत्यक्ष निर्वाचन'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
gagan-thapa-31.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिरभन्दा अगाडि नै पार्टीको महाधिवेशन सम्पन्न हुने दाबी गरेका छन्। उनले ०८४ सालको आम निर्वाचनपछि मात्र अधिवेशन हुने आशङ्काबाट बाहिर निस्कन सबैलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महाधिवेशन सार्न पार्टीले चाहेर मात्रै नहुने र यसले अदालती समस्या निम्त्याउने बताए। कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मंसिर रहेको र त्यहाँसम्म पुर्‍याउन नहुने स्पष्ट पार्दै त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले जतिसक्दो चाँडो क्रियाशील सदस्यको काम सकिन्छ, महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर गरे।

महामन्त्री थापाले भने, "हामी २०८३ साल मंसिरभन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्छ। तपाईंहरू कसैको दिमागमा कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्। नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भूतपूर्व पदाधिकारीहरू एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ। पाइँदैन। कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन। नयाँ नाम फेरे पाइन्छ। अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनुहोला। हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो। त्यहाँसम्म पुर्‍याउनु हुन्न। त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ। सकेसम्म अगाडि तान्नुपर्छ। तपाईंहरूले जति छिटो क्रियाशील सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जान सक्छौँ।"

महामन्त्री थापाले भ्रातृ संस्थाहरूको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको पनि बताए। उनले नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ संस्थाहरूले अधिवेशन गर्छु मात्रै भने पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने उनको धारणा छ।

उनले सबै क्रियाशील सदस्यहरूबाट प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गरे पार्टीमा गुटबन्दी अन्त्य हुने बताए। महामन्त्री थापाले क्रियाशील सबै सदस्यहरूबाट सभापति चुन्ने व्यवस्था पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र रहेको बताए। उनले अहिले नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेको जानकारी दिँदै क्रियाशील सबै सदस्यहरूबाट कांग्रेसको सभापति छान्ने व्यवस्था गर्नसके गुट ध्वस्त हुने जिकिर गरे।

"सबै साथीहरू तयार हो भने पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र छ," थापाले भने, "नेपाली कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य छौँ। यो पटक अलिकति रिन्यु गर्ने सबै गर्दा नयाँ थपिँदा मानौँ १२ लाख भयो रे ल। हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ। त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौंमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौं। १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ र उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ। किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्ने। सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ त ल। १२ लाख मान्छेबाट निर्वाचित भएको कांग्रेसको कांग्रेसको सभापतिले जसले गुट बनायो त्यो ध्वस्त। त्यो सकियो। होइन भने गुट त बन्छ, जति भाषण गरे पनि।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ