arrow

देशभित्र विकास भए मात्रै वैदेशिक रोजगारी रोकिन्छ - पूर्वगभर्नर नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
chiranjivi-nepal-29.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीविकुमार नेपालले देशभित्र पर्याप्त विकास भएमा मात्रै वैदेशिक रोजगार र आप्रवासको बढ्दो लहर स्वाभाविक रूपमा रोकिने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्वगभर्नर नेपालले जनशक्तिको पलायनलाई केवल नियमनले मात्र रोक्न नसकिने स्पष्ट पारे। देशमा स्थायित्व, अवसर र विश्वसनीय वातावरण निर्माणको खाँचो रहेको उनको भनाइ छ। सुन्दर जीवनको कल्पना गर्दै वर्षेनी लाखौँ नेपालीहरू पलायन हुने गरेको उल्लेख गर्दै उनीहरूलाई स्वदेश फर्काउने वातावरण सरकारले बनाउनुपर्नेमा उनले जोड दिए।

"हामीले विकास देशभित्र गर्न सक्यौँ भने कसैलाई रोक्नु पर्दैन, उनीहरू आफैं फर्किन्छन्," उनले भने, "यो संसारमा कोही पनि फकाएर रोकेर आउनेवाला छैन। आफ्नो सुन्दर भविष्यको लागि गएको जमात हो। देशमा यस्तो वातावरण बनाउनुपर्‍यो कि उनीहरू फर्केर आओस्।"

उनले भारतको उदाहरण दिँदै भने, "भारतमा राजीव गान्धी प्रधानमन्त्री हुँदाखेरी जतिबेला त्यहाँको आर्मीले कू गर्‍यो। पछि भारतले आफ्नो देशका नागरिक जुनसुकै देशमा भए पनि तपाईंहरूको सुरक्षा भारत सरकारले गर्छ भनिसकेपछि भारतको नीतिमै परिवर्तन भयो। पछि संसारभर रहेका भारतीय मूलका व्यक्तिहरूले भारततिर हेर्न थाले।" यसको अर्थ देशले आह्वान पनि गर्ने, नीतिगत परिवर्तन पनि गर्ने र उनीहरूलाई राष्ट्रप्रतिको प्रेम अनुभव हुने नीति अपनाउनुपर्ने उनको सुझाव छ।

नेपालले शिक्षा आर्जन तथा कामको सिलसिलामा विदेश जाने तर नफर्कने क्रम बढेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर बन्न जरुरी रहेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट विगतको तुलनामा प्रगतिशील रहेको र मुलुकको वर्तमान परिस्थितिको सामना गर्नेगरी आएको पनि बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ