वार्षिक उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झर्यो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
540
Shares
काठमाडौँ। गत वैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीतिमा उल्लेख्य कमी आएको हो। अघिल्लो वर्षको वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार, गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य ११.०८ प्रतिशतले, फलफूलको ६.१५ प्रतिशतले, दाल तथा गेडागुडीको ५.१७ प्रतिशतले र गैर-मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ। तर, तरकारीको मूल्य ८.११ प्रतिशतले, मरमसलाको २.२० प्रतिशतले र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य ९.०४ प्रतिशतले, शिक्षाको ५.८८ प्रतिशतले, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशतले, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशतले र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ।
प्रतिवेदनअनुसार, गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशत र शहरी क्षेत्रको २.६१ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ। मधेश प्रदेशको २.८१ प्रतिशत, बागमतीको २.४० प्रतिशत, गण्डकीको २.२३ प्रतिशत, लुम्बिनीको २.१५ प्रतिशत, कर्णालीको २.२१ प्रतिशत र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ।
त्यसैगरी, भौगोलिक क्षेत्रका आधारमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ।