दश महिनामा १३ खर्ब ५६ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी विनिमय सञ्चिति पनि बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
612
Shares
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको १० महिनाको तथ्याङ्कअनुसार यो रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले वृद्धि भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। २०८२ वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेको छ।
यसैगरी, देशको कुल विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ। यो रकम १४.६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त मानिएको छ। गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ (१५ अर्ब २७ करोड डलर) थियो, जुन अहिले २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड डलर पुगेको छ।
यो कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९.६ प्रतिशतले बढेको छ भने अन्य वित्तीय संस्थाको सञ्चिति ५६.८ प्रतिशतले बढेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार, यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१.१ प्रतिशत, कुल आयातको १२१.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३.८ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित छ।
देशको शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ। आयात १३.१ प्रतिशतले बढेको छ भने निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको छ। वैशाखसम्म नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजस्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
यो अवधिसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ। २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मात्र मौज्दात थियो।
राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड रुपैयाँ रहेको थियो, जसले FDI मा पनि उल्लेखनीय वृद्धि देखाउँछ।