आईपीएलको फाइनल आज, उपाधिका लागि पञ्जाब र बेंगलुरु भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
741
Shares
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:३० बजेदेखि खेलिनेछ। १८ वर्षदेखि उपाधिको पर्खाइमा रहेका यी दुई टोलीमध्ये एकले यस पटक नयाँ च्याम्पियनका रूपमा आफूलाई उभ्याउनेछ । जसले गर्दा आईपीएललाई तीन वर्षपछि नयाँ विजेता मिल्नेछ।
बेंगलुरु चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन्। बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो। यी दुई टोलीबीचको यो पहिलो फाइनल भेट हुनेछ।
आईपीएल इतिहासमा पञ्जाब र बेंगलुरुबीच हालसम्म ३६ वटा खेल खेलिएका छन् । जहाँ दुवैले १८-१८ खेल जितेर बराबरीको प्रतिस्पर्धा देखाएका छन्। यस सिजनको क्वालिफायर-१ मा पनि यी टोली भिड्दा बेंगलुरुले ८ विकेटले जित हासिल गरेको थियो। यस सिजनमा यी दुई टोलीबीच यो चौथो खेल हुनेछ, जसमध्ये अघिल्ला तीन खेलमा दुईमा बेंगलुरु र एकमा पञ्जाबले जित हात पारेको छ।
पञ्जाबका लागि कप्तान श्रेयस अय्यर शीर्ष स्कोररका रूपमा उदाएका छन्। उनले १६ खेलमा ६०३ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट अविजित ९७ रन यही नरेन्द्र मोदी स्टेडियममा आएको थियो। उनले क्वालिफायर-२ मा मुम्बईविरुद्ध पनि अविजित ८७ रनको महत्वपूर्ण पारी खेलेका थिए। बलिङतर्फ, अर्शदीप सिंह १६ खेलमा १८ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।
बेंगलुरुको ब्याटिङमा विराट कोहलीले १४ खेलमा ८ अर्धशतकसहित ६१४ रन बनाएका छन्। अर्का ओपनर फिल सल्टले उत्कृष्ट सुरुवात दिँदै आएका छन् भने देवदत्त पडिक्कल र मयंक अग्रवालले मध्यक्रममा जिम्मेवारी निभाएका छन्। कप्तान रजत पाटिदार पनि नम्बर-४ मा प्रभावकारी साबित भएका छन्। आरसीबीका फिनिसरहरू जितेश शर्मा, रोमारियो शेफर्ड र टिम डेभिड पनि उत्कृष्ट लयमा छन्, जसले शीर्ष क्रम असफल हुँदा पनि महत्वपूर्ण योगदान दिएका छन्।
पछिल्ला सिजनहरूमा बेंगलुरुको कमजोरी मानिने बलिङ यस पटक सशक्त देखिएको छ। भुवनेश्वर कुमार, जोश हेजलवुड र यश दयालको त्रिमूर्तिले डेथ ओभरको समस्या समाधान गरेका छन्। हेजलवुडले यस सिजन २१ विकेट लिएका छन् भने भुवीले १५ र यश दयालले १२ विकेट लिएका छन्। बीचका ओभरहरूमा सुयश शर्मा र क्रुणाल पाण्ड्या टोलीका लागि बलियो पक्ष बनेका छन्।
नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानहरूलाई सहयोग पुर्याउने प्रकृतिको छ। यहाँ आइतबार खेलिएको क्वालिफायर-२ मा पञ्जाबले २०४ रनको लक्ष्य पछ्याएको थियो, जसले गर्दा आजको फाइनल पनि उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ। यस मैदानमा खेलिएका ४३ वटा आईपीएल खेलमध्ये पहिले ब्याटिङ गर्ने र दोस्रो इनिङ्समा ब्याटिङ गर्ने दुवै टोलीले लगभग बराबर खेल जितेका छन् (२१ र २२)। यस मैदानमा उच्च टोली स्कोर २४३/५ हो, जुन पञ्जाब किंग्सले यसै सिजन गुजरात टाइटन्सविरुद्ध बनाएको थियो। यहाँ पहिलो इनिङ्समा २१० रनको स्कोरलाई विजयी टोटल मानिन्छ।
यद्यपि, अहमदाबादको मौसम खेलका लागि अनुकूल नहुन सक्छ। सोमबार दिउँसो घाम लागे पनि बादल रहने र वर्षाको ६२ पेरतिशत सम्भावना रहेको छ। खेल हुने दिन यहाँको तापमान २७ देखि ३८ डिग्री सेल्सियससम्म रहन सक्ने अनुमान गरिएको छ।
यदि फाइनलमा वर्षाले बाधा पुर्याएमा १२० मिनेटको अतिरिक्त समय दिइनेछ। त्यो समयमा पनि खेल हुन नसकेमा रिजर्भ-डे अर्थात् जेठ २२ गते (मंगलबार) खेलिनेछ। रिजर्भ-डेमा पनि नतिजा नआएमा दुवै टोलीबीच ट्रफी बाँडिनेछ।