दूषित खाद्य पदार्थले हरेक वर्ष लाखौंको ज्यान लिने, नेपालमा खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाइँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
652
Shares
काठमाडौं । विश्वभर दूषित खाद्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भइरहेका बेला नेपालमा विश्व खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाउन सुरु गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ १८ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रमसहित यो सप्ताह मनाइने जानकारी दिएको हो।
हरेक वर्ष जुन ७ मा मनाइने यस दिवसलाई यस वर्ष 'खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता' भन्ने नाराका साथ मनाइँदैछ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्व स्वास्थ्य संगठन को तथ्यांक उद्धृत गर्दै विश्वमा हरेक वर्ष अस्वस्थकर एवं दूषित खाद्य पदार्थबाट २ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको बताए। स्वास्थ्य संगठनका अनुसार, दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म २०० भन्दा बढी रोग लाग्न सक्ने, प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने, ४ लाख २० हजार मानिस खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने गर्दछन्।
विश्व स्वास्थ्य संगठनको अध्ययनले तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपंक्षीजन्य खाद्य पदार्थमा एन्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको पनि औंल्याएको छ।
महानिर्देशक कर्णले नागरिकलाई खाद्य स्वच्छताप्रति सचेत गराउने, सचेतना जगाउने र जागरूक गराउने प्रमुख उद्देश्य पूरा गर्न सञ्चारकर्मी र विभागबीच सहकार्यको आवश्यकता औंल्याए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतना, अतिरिक्त क्रियाकलाप, संवाद, अनुगमन, शैक्षिक तथा नीतिगत छलफल लगायतका विविध कार्यक्रमहरू तय गरिएका छन्।