सिमित व्यक्तिहरूको हातमा ऋण गएको छ भन्ने एउटा कन्सर्न छ - गभर्नर [भिडियो]
बाफिया संशोधनमा ध्यान दिन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
860
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ऋण केही सीमित व्यक्तिहरूको हातमा केन्द्रित भएको आशंका व्यक्त गरेका छन्। उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्दा सांसदहरूले यसबारे गम्भीरतापूर्वक विचार गर्नुपर्नेमा जोड दिएका छन्।
सोमबार अर्थ समितिमा भएको बाफियामाथिको छलफलमा बोल्दै गभर्नर पौडेलले हालैको एक अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग गरेको देखाएको जानकारी दिए। यस तथ्यांकले ऋण प्रवाह एक हदसम्म केन्द्रीकृत हुँदै गएको हो कि भन्ने चिन्ता (कन्सर्न) रहेको उनको भनाइ थियो।
गभर्नर पौडेलले बैंकका सञ्चालकले कर्जा लिन पाउने वा नपाउने, कतिसम्म लिन पाउने, सञ्चालकको परिभाषा के हो, बैंक चलाउने व्यक्ति र व्यवसायीबीचको फरक आवश्यक छ वा छैन जस्ता प्रश्नहरू उठाए। उनले अन्य देशमा यस्तो व्यवस्था भए पनि नेपालमा यसको आवश्यकता पर्छ वा पर्दैन भन्नेबारे सांसदहरूले सोच्नुपर्ने बताए।
"देशमा भइरहेको जुन स्थिति छ, त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितिका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसदले नै आवश्यक निर्णय लिनुपर्छ," उनले भने। उनले अहिले देखापरेका कतिपय चुनौतीलाई कानूनी रूपमा निरूपण गरिनुपर्नेमा जोड दिए।
"सायद केही व्यक्तिहरूको हातमा ऋण गएको छ भन्ने एउटा कन्सर्न छ। त्यसलाई कसरी लिने, धेरै जानु राम्रो हो, होइन, त्यसले उत्पादकत्वमा फाइदा गरेको छ वा छैन, त्यसले राज्य सञ्चालनको सिद्धान्तलाई कसरी प्रतिबिम्बित गर्छ भन्ने हेर्नुपर्ला। यो सांसदहरूको अधिकारको कुरा हो," गभर्नर पौडेलले स्पष्ट पारे।
गभर्नर पौडेलका अनुसार, कर्जा प्रवाह र ऋणीको हक अधिकारको कुरा सबैभन्दा ठूलो हो र यसलाई बाफियामा स्पष्ट ढंगले परिभाषित गरिनुपर्छ।