राजस्वको लक्ष्य पूरा गरेरै छाड्नेछौं - अर्थमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
609
Shares
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको राजस्वको अनुमानित लक्ष्य पूरा गरेरै छाड्ने बताएका छन्। उनले राजस्वको लक्ष्य हासिल गर्न बढी मेहनत गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।
पौडेलले राजस्वको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा कुनै प्रश्न गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे। उनले भने, "राजस्वको सन्दर्भमा जुन अनुमान गरिएको छ, म यहाँहरूसँग आँखा जोडेर भन्न चाहन्छु। आगामी आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा समीक्षाको बेलामा फेरि प्रश्न सोध्न सक्नुहुन्छ, पूरा भएन नि त राजस्वको लक्ष्य भनेर। त्यो स्पेस मैले दिएको छैन।"
उनले राजस्वको लक्ष्य निर्धारण गर्दा मेहनत गरेर पूरा गर्न सकिने गरी गरिएको दाबी गरे। वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको र वित्त आयोगले जीडीपीको ५.५ प्रतिशतसम्म ऋण लिन सकिने भनेपनि बजेटमा ५.३ प्रतिशत मात्रै आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको उनले बताए। यसले सरकार मनमर्जी ढंगले ऋण उठाउने पक्षमा नरहेको देखाउने उनको भनाइ छ।
अर्थमन्त्री पौडेलले देश विकासका लागि जनशक्ति र प्राकृतिक स्रोतको आवश्यकता पर्ने बताए। उनले प्राकृतिक स्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनै पनि देशको विकास हुन सक्ने जिकिर गरे।
"हामीले हाम्रो जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने? सोच्नुपर्ने विषय यो हो। ज्ञान, सीप आर्जन गरेका युवायुवतीहरूलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी? सोच्नुपर्ने विषय यो हो," उनले भने। पौडेलले प्राकृतिक स्रोतको उपयोग नगरीकन संसारको कुनै देश धनी नभएको जिकिर गर्दै, अहिलेको बजेटले यस कोणबाट केही महत्वपूर्ण प्रस्तावहरू गरेको बताए।
उपप्रधानमन्त्री पौडेलले अहिले अनुमान गरिएको खर्चको स्रोत क्षमताको प्रभावकारी परिचालनद्वारा पूरा गर्न सकिने बताए। उनले बजेट बिना तयारीका खुद्रा योजनामा जानु हुँदैन भन्नेमा सरकार होशियार रहेको स्पष्ट पारे।
सहकारी क्षेत्रका समस्या समाधानमा बजेट केन्द्रित रहेको पनि उनले जानकारी दिए। बजेटको कार्यान्वयनमा सबैको साथ र समर्थन सरकारलाई प्राप्त हुने विश्वास व्यक्त गर्दै, सरकारले धर्म निर्वाहका लागि मात्रै बजेट नल्याएको तर कार्यान्वयन गरेर अपेक्षित नतिजा हासिल गर्ने लक्ष्यका साथ प्रस्तुत गरिएको उनले बताए।