गत आर्थिक वर्षमा ५८ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत
कृषिमा सबैभन्दा ठूलो रकम, आईटीमा धेरै परियोजना
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
248
Shares
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) तर्फ उत्साहजनक आकर्षण देखिएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। उक्त अवधिमा स्वचालित (अटोमेटिक) र स्वीकृत (अप्रुभ्ड) मार्ग गरी कुल १ हजार ११६ वटा परियोजनाका लागि लगानी भित्रिएको हो।
विभागको तथ्याङ्क अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ८९७ वटा परियोजनाका लागि ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस्तै, स्वीकृत मार्ग (अप्रुभ्ड रुट) मार्फत २१९ वटा परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ।
क्षेत्रगत लगानीलाई हेर्दा रकमका आधारमा कृषिमूलक क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा भित्रिएको छ। कृषि क्षेत्रका जम्मा १८ वटा परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।
परियोजना संख्याका आधारमा भने सूचना प्रविधि (आईटी) क्षेत्र अग्रस्थानमा देखिएको छ। आईटी क्षेत्रमा सबैभन्दा धेरै ७२७ वटा परियोजना दर्ता भएका छन्, जसमा कुल २ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको छ।
यसैगरी, पर्यटन क्षेत्रमा २२७ वटा परियोजनाका लागि १३ अर्ब ९९ करोड रुपैयाँ, ऊर्जामूलक क्षेत्रका ४ वटा परियोजनाका लागि ७ अर्ब १६ करोड रुपैयाँ र उत्पादनमूलक क्षेत्रका ६३ वटा परियोजनाका लागि ३ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको विभागले जनाएको छ।
उद्योग विभागका अनुसार यो तथ्याङ्कले नेपालको कृषि, पर्यटन, ऊर्जा, उत्पादन र सूचना प्रविधि जस्ता सम्भावित क्षेत्रहरूमा विदेशी लगानीकर्ताहरूको भरोसा र आकर्षण बलियो रूपमा कायम रहेको सङ्केत गर्दछ।