arrow

मुम्बई दोस्रो क्वालिफायरमा, गुजरात बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
rohit-sharma-mumbai-2025yy.jpg

काठमाडौँ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । शुक्रबार राति भएको इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले पराजित गर्दै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । 

चन्डिगढको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२८ रन बनायो । 

मुम्बईका लागि रोहित शर्माले ५० बलमा ८१ रन बनाए । उनी व्यक्तिगत ३ तथा १२ रन बनाउँदा दुई पटक क्याच आउट हुनबाट बचेका थिए । उनले चार छक्का प्रहार गरेसँगै तीन सय छक्का हान्ने पहिलो भारतीय खेलाडी बनेका छन् । 

त्यस्तै रोहित आईपीएलमा सात हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । सात हजार रन पार गर्ने पहिलो खेलाडी विराट कोहली हुन् । 

त्यस्तै जोनि बेयरस्ट्रले २२ बलमा ४७, सूर्यकुमार यादवले २० बलमा ३३, तिलक वर्माले ११ बलमा २५ तथा हार्दिक पाण्डेयाले ९ बलमा अविजित रहँदै २२ रन बनाए ।  

प्रसिद्ध कृष्ण र साइ किशोरले २–२ विकेट लिए । 

जवाफमा गुजरात टाइटान्सले ६ विकेटको क्षतिमा २०८ रनमात्र बनाउन सक्यो । साइ सुदर्शनले ४९ बलमा ८० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । त्यस्तै वाशिंगटन सुन्दरले २४ बलमा ४८ रन जोडे । मुम्बईका लागि टेन्ट बोल्टले २ विकेट लिए । 

यो खेल जितेको मुम्बई फाइनलका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायरमा मुम्बईको भेट पञ्जाब किंग्ससँग आइतबार खेल्नेछ । 

पहिलो क्वालिफायरमा पराजित हुँदै पञ्जाब दोस्रो क्वालिफायरमा धकेलिएको हो । पहिलो क्वालिफायरमा विजयी हुँदै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ । 

बिहीबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो । 

चन्डिगढमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब १४.१ ओभरमै अलआउट हुँदै १०१ रनमा समेटियो ।  

मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंहले १८ तथा अज्मतुल्लाह ओमरजायीले १८ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् । 

सुयश शर्मा र जोश हाज्लेवुडले समान ३–३, याश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट लिए । 

जवाफमा बैंगलुरुले १० ओभरमै झिनो चुनौती २ विकेटको क्षतिमा पूरा गरेको हो । बैंगलुरुका लागि फिल साल्टले अर्धशतक बनाए । 

जितसँगै बैंगलुरु चौथो पटक फाइनलमा पुगेको छ । यसअघि सन् २००९, २०११ र २०१६ मा बैंगलुरु फाइनलमा पुगेको थियो । अहिलेसम्म बैंगलुरुले उपाधि भने जित्न सकेको छैन । 

फाइनल आगामी मंगलबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ