मुम्बईले गुजरातलाई दियो २२९ रनको चुनौती, रोहितले बनाए ८१ रन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
718
Shares
तस्बिर – रोहित शर्मा, एएफपी ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटान्सलाई २२९ रनको चुनौती दिएको छ । चन्डिगढको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२८ रन बनायो ।
मुम्बईका लागि रोहित शर्माले ५० बलमा ८१ रन बनाए । उनले चार छक्का प्रहार गरेसँगै तीन सय छक्का हान्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।
त्यस्तै रोहित आईपीएलमा सात हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । सात हजार रन पार गर्ने पहिलो खेलाडी विराट कोहली हुन् ।
त्यस्तै जोनि बेयरस्ट्रले २२ बलमा ४७, सूर्यकुमार यादवले २० बलमा ३३, तिलक वर्माले ११ बलमा २५ तथा हार्दिक पाण्डेयाले ९ बलमा अविजित रहँदै २२ रन बनाए ।
प्रसिद्ध कृष्ण र साइ किशोरले २–२ विकेट लिए ।
यो खेल जित्ने टिम फाइनलका लागि दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँग आइतबार खेल्नेछ ।
पहिलो क्वालिफायरमा विजयी हुँदै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ । बिहीबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो ।
चन्डिगढमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब १४.१ ओभरमै अलआउट हुँदै १०१ रनमा समेटियो ।
मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंहले १८ तथा अज्मतुल्लाह ओमरजायीले १८ रन बनाए बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर जोड्न सकेनन् ।
सुयश शर्मा र जोश हाज्लेवुडले समान ३–३, याश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट लिए ।
जवाफमा बैंगलुरुले १० ओभरमै झिनो चुनौती २ विकेटको क्षतिमा पूरा गरेको हो । बैंगलुरुका लागि फिल साल्टले अर्धशतक बनाए ।
जितसँगै बैंगलुरु चौथो पटक फाइनलमा पुगेको छ । यसअघि सन् २००९, २०११ र २०१६ मा बैंगलुरु फाइनलमा पुगेको थियो । अहिलेसम्म बैंगलुरुले उपाधि भने जित्न सकेको छैन ।