मगरलाई आईजीपी बन्ने बाटो खुल्यो, एआईजीमा बढुवा सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
1.3k
Shares
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का डीआईजी गणेशबहादुर ठाडा मगर एआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआईजीमा बढुवा सिफारिस भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख (आईजीपी) बन्ने सम्भावना बढेको छ ।
सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन् । एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरू एकसाथ डीआईजी भएका थिए ।
कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन् । वरियतामा ठाडा मगर २ नम्बरमा थिए ।
असन्तुष्टि जनाएका गिरी एसएसपी हुँदा ५ नम्बरमा थिए । राजनीतिक चलखेल गरेर उनी डीआईजीमा १ नम्बरमा बढुवा भएका थिए ।
आफैँले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
एआईजी बन्न ९ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मणबहादुर सिंह, कालीदाश धौवजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए ।