arrow

हुम्लाको लिमी पुग्यो सरकारले पठाएको राहत सामग्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
telgau-pahiro.jpg

सिमकोट (हुम्ला)। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितहरूका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री लिमी पुगेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट) र म्याट्रेस सेटलगायतका राहत सामग्री त्यहाँ आइपुगेको हो। प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलसहितको टोलीले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर ती सामग्री बुझेका थिए।

बोक्चेगौडासम्म सडक निर्माण भइरहेकाले सामग्रीहरू सिधै सदरमुकाम सिमकोट पुर्‍याउन सम्भव नभएपछि टोली शनिबार त्यहाँ पुगेर सामान बुझेको हो। उक्त सामग्रीहरू बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो भने अन्य सुरक्षाकर्मीले पनि भारी बोकेर भिर पार गरी सामग्रीहरू ढुवानी गरेका थिए। कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री हाल नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ।

जेठ १ गते राति गाउँभन्दा माथिबाट आएको बाढीपहिरोका कारण तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन्। तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान र अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली अहिले उक्त स्थानमा खटिएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ