काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले समाजमा व्याप्त नकारात्मक सोच र विचारले देशको विकास हुन नसक्ने बताएकी छन्। नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले यस्तो धारणा राखेकी हुन्।
"केही पनि हुँदैन र सम्भव पनि छैन" भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने प्रवृत्तिले समाज र देश दुवैको विकासमा बाधा पुग्ने उनको भनाइ थियो। मन्त्री देउवाले यो सोच राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा रहेका नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
"कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ। समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन," उनले भनिन्, "सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन।"
मन्त्री डा. राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन्। "संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ," उनले भनिन्, "तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ। त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस्।"
उनले सर्वोच्च अदालतको परमादेशको पालना गर्दै सरकारले हालै एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाटै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट पारिन्। मन्त्री डा. राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारभरका नेपालीहरूलाई आग्रह गरिन्।
आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेरै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन्।
"हामीले नेपाली डायस्पोराका साथै आर्थिक कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ," उनले भनिन्, "यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ।"