गलकोट (बागलुङ) । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा भने ह्वात्तै वृद्धि भएको छ। अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिन थालेका छन्। पर्यटकको संख्या बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा समेत कठिनाइ हुन थालेको छ। नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकको संख्यामा पनि वार्षिक रूपमा वृद्धि भएको छ।
विराटनगर र पोखराबाट शैक्षिक भ्रमणका लागि आउने विद्यार्थीहरू तथा देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीहरूको रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरू पर्न थालेका छन्। हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ। स्थानीय अर्जुन सापकोटाका अनुसार गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम सङ्ग्रहालयको दर्शन गरेका थिए।
सापकोटाले नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक आएको बताए। उनले चैते दसैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकामा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको जानकारी दिए। "नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम सङ्ग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यसयता बिदाको समयमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ, सदरमुकामबाट जम्मा चार किमीमा रहेको सङ्ग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङसमेत पुग्ने गरेका छन्," उनले भने।
कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउने क्रम बढेको छ। चैतेदसैँ र वडादसैँमा भीड हुने कालिका मन्दिरमा नयाँ वर्षसहित अन्य दिनमा पनि भीड लाग्न थालेको छ। चैतेदसैँयता छ लाख पर्यटक भित्रिएको समितिले जनाएको छ।
पर्यटनका हिसाबले बागलुङ राम्रो भन्ने सुनेर सातदिने शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्याएर आएको हेटौँडाका राम मर्हजनले जानकारी दिए। उनले बागलुङको पञ्चकोट, कुडुँलेको शालग्राम सङ्ग्रहालय र कालिका मन्दिर दर्शनका लागि आएको बताए। उनको भ्रमण टोली पोखरा घुमेर बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको छ।
मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन्। शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटलहरू यात्रुले भरिएको व्यवसायी अर्जुन चोखालले बताए। नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यवसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो।