arrow

गभर्नर सिफारिस समिति बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
governor-selection-committe.jpg

काठमाडौँ । सम्भवतः मुलुकले आज नयाँ नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर पाउने भएको छ । नयाँ गभर्नर नियुक्तिका लागि गभर्नर सिफारिस समिति बैठक बसिरहेको छ । 

सिंहदरबारमा बसिरहेको बैठकले गभर्नरको नाम सिफारिस गर्नेछ । उक्त समितिले सिफारिस गरेको नामलाई अनुमोदन गरी मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि डाकिएको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन् । 
    
अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ । राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।

गभर्नरका लागि डा विश्वनाथ पौडेलको नाममा सहमति जुटेको छ । यसअघि नै उनका नाममा सहमति जुटेको भए पनि हिजो फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरकै विषयमा छलफल गर्न बोलाएपछि देउवा बालुवाटार आएका थिएनन् । 

देउवा नै गर्भनरका विषयमा पटक पटक कुरा नगर्ने भन्दै नआएपछि हिजो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो । 

तर फेरि आज भएको छलफलमा पौडेलको नाममा सहमति जुटेको हो । कांग्रेसले यसअघि राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टको नाममा सहमति जुटाएको भए पनि उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्प खोजेको थियो । 

विकल्पमा पौडेल उत्कृष्ट ठहरिए । उनी योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनी गत आम निर्वाचनमा कांग्रेसबाटै चितवनबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका थिए । 

तर उनी चुनाव हारेपछि पार्टीको कुनै जिम्मेवारीमा छैनन् । उनी आफ्नो पेशा शिक्षणमै छन् । उनी काठमाडौँ विश्वविद्यालयका प्राध्यापक हुन् । 

कुनै राजनीतिक व्यक्ति गभर्नर हुन नपाइने भए पनि उनी भने विज्ञका हिसाबले कांग्रेसले अगाडि सारेका व्यक्ति भएको कांग्रेसले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ