काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिण्डर साट्ने क्रममा उपभोक्ताहरू ठगिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कोइरालाले बजारमा विभिन्न प्रकारका एलपी ग्याँस सिलिण्डर रहेको र ग्याँस अभावको बहाना बनाएर सिलिण्डर साट्न बाध्य पारी उपभोक्ताबाट पाँच सयदेखि एक हजार रुपैयाँसम्म असुल्ने गरेको आरोप लगाइन्। उनले यस्ता कार्यको तत्काल अनुगमन गर्न सरकारसँग माग गरेकी छन्।
‘बजारमा एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डर छन्। तर कहिलेकाहीँ कम्पनीअनुसार ग्याँस अभाव गरिन्छ। लामो समयपछि उपभोक्ता ग्याँस लिन जाँदा यो कम्पनीको ग्याँस छैन, सिलिण्डर साट्नुस् भनिन्छ। सिलिण्डर साट्न कसैले पाँच सय, कसैले हजार लिएर बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिण्डर साट्छन्। सरकारको अनुगमन गर्ने निकाय छैन? सभामुखज्यू, यो देशमा ग्याँस एउटै हो। अलग-अलग कम्पनी दर्ता गराइसकेपछि सिलिण्डर साट्नका लागि उपभोक्ताहरूसँग किन फेरि पैसा थपिन्छ? सरकारले यस्ता कामको निगरानी गरोस्,’ सांसद कोइरालाले भनिन्। उनले सरकारले तत्काल यस्ता गतिविधिहरूको निगरानी गर्नुपर्नेमा जोड दिइन्।