काठमाडौँ । भारतको नागपुरमा रहेको राष्ट्रिय स्वयंसेवक दल आरएसएसको मुख्यालयमा सन् २००६ मा आतङ्कवादी हमलाको योजना बनाउने लश्कर-ए-तैयबाका कमाण्डर सैफुल्लाह पाकिस्तानमा मारिएका छन्।
लश्कर-ए-तैयबासँग सम्बन्धित ठूला आतङ्ककारी पाकिस्तानमा आइतबार मारिएका हुन्। उनको नाम सैफुल्लाह उर्फ विनोद कुमार उर्फ मोहम्मद सलिम उर्फ खालिद उर्फ वानियाल उर्फ वाजिद उर्फ सलिम भाइ हो।
फरक फरक पहिचान बनाएर उनले नेपालमा लश्कर-ए-तैयबाको सम्पूर्ण मोड्युल सम्हालेका थिए। उनको मुख्य काम लश्करको आतङ्कवादी गतिविधिका लागि कार्यकर्ता र आर्थिक सहयोग प्रदान गर्नु थियो। लामो समयदेखि उनी नेपालमा लश्कर-ए-तैयबाको काम हेरिरहेका थिए।
उनलाई पाकिस्तानको सिन्ध प्रान्तको बदिन जिल्लाको माटली तालुकमा गोली हानी मारिएको बताइएको छ। उनले नेपाल हुँदै लश्कर आतङ्ककारीहरूलाई भारतमा घुसपैठ गराउने दाबी भारतीय सञ्चारमाध्यमले समेत गरेका छन्।
सैफुल्लाह लश्करका अपरेशनल कमाण्डर आजम चीमा उर्फ बाबाजीका नजिकका सहयोगी थिए। नेपालमा उनी विनोद कुमारको नामबाट सञ्चालनमा थिए। उनको विवाह नेपाली महिला नग्मा बानुसँग पनि भएको थियो।
उनले सन् २००६ मा नागपुरमा रहेको आरएसएस मुख्यालयमा भएको आक्रमणमा पनि प्रमुख भूमिका खेलेको दाबी गरिएको छ। यसबाहेक उनले सन् २००१ मा रामपुरमा सीआरपीएफ क्याम्प भएको आक्रमणमा पनि प्रमुख भूमिका खेलेका थिए। उनी २००५ मा आईआईएससी बैंगलोरमा भएको आक्रमणको षड्यन्त्रमा पनि संलग्न थिए।
उनी सिन्ध प्रान्तको माटलीबाट आफ्नो गतिविधि सञ्चालन गरिरहेका थिए र लश्करका लागि निरन्तर आतङ्ककारी भर्ती गरिरहेका थिए।
गत २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा एक नेपालीसहित २६ हिन्दूधर्मीको गोली हानी हत्या गरेको आतङ्कवादी हमलापछि भारतले गरेको अपरेसन सिन्दूर अन्तर्गत पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाको मुख्यालय र त्यसपछि पाकिस्तानमा रहेका प्रमुख सैन्य अड्डाहरू सहित नौ प्रमुख आतङ्कवादी अड्डाहरू ध्वस्त पारेको थियो।
यस्तो अवस्थामा, 'अपरेसन सिन्दूर' होल्ड पछि पाकिस्तान भित्र यो लश्कर आतङ्ककारीको मृत्यु हुनु भारतको लागि एक महत्त्वपूर्ण विकास भएकोसमेत भारतले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिले नै भनेका छन् कि देशका शत्रुहरू जहाँ भए पनि, तिनीहरू बाँच्ने छैनन्।