फरक विचारकै आधारमा सरकारले दमन गरिरहेको लिङ्देनको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
678
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले फरक विचार राखेको आधारमा दमन गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरहरूलाई फरक विचार बोकेकै कारण सरकारले दमन गरिरहेको आरोप लगाए। उनले हिन्दु राष्ट्रको समर्थन गर्ने, राजसंस्थाको पक्ष लिने र संघीयता विरोधी विचार राख्ने नागरिकहरूलाई सरकारले लक्षित गरी दमन गरिरहेको दाबी गरे। देशमा सुशासनको माग गर्नेहरूलाई समेत प्रताडित गर्ने हो भने सरकारले खुलेर विद्रोहमा जान आह्वान गर्नुपर्ने उनको तर्क थियो।
अध्यक्ष लिङ्देनले भने, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रुपमा भनिदियोस्। कि हामी विद्रोहमा जाऔं। राप्रपाले र राजा मान्छु भन्नेहरूले, हिन्दु राष्ट्र मान्छु भन्नेहरूले, संघीयता मान्दिनँ प्रदेश खारेज हुनुपर्छ भन्नेहरूले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरूले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्यो हामी विद्रोहमा जान्छौं। विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्यो।’
उनले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका गतिविधि गरिरहेको भन्दै भर्त्सना गरे। अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता तथा कार्यकर्ताहरूलाई बिना शर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराए।