देश दुर्घटनाको छेउमा, समाजवाद घोषणा गरौं: वामदेव गौतम
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
2.5k
Shares
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर तत्काल देशलाई समाजवाद घोषणा गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै गौतमले दस वर्षअघि जारी भएको संविधानले देशलाई समाजवादतर्फ लैजाने भने पनि दलहरूले केही गर्न नसकेको बताए।
उनले संविधानको भावना र मर्मअनुसार काम नहुँदा जनतामा निराशा छाएको र व्यवस्था विरोधी शक्तिहरूले गति लिइरहेको बताए। समयमै जनगुनासो सम्बोधन नगरे अर्को व्यवस्था आउन सक्ने चेतावनी दिँदै उनले देश ठूलो दुर्घटनाको छेउमा पुगेको र परिवर्तनको नियमअनुसार कसैले रोक्न नसक्ने जिकिर गरे।
गौतमले भने, ‘नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भाग लिइरहेको बेलामा मैले ज्यादै नराम्रो नेपाली जनताका निम्ति नेपाल राष्ट्रका निम्ति सबैको घटना दुर्घटनाको छेउछेउमा हामी छौँ भन्ने हामीलाई लाग्या छ। कति समयसम्म यसरी हामी छलफल गर्छौं, त्यो थाहा छैन। तर जे हुनुपर्ने हो त्यो भएन भने अर्को चिज हुन्छ, यो सिद्धान्त हो। कसैले रोक्न सक्दैन। कसैले रोकेर रोकिएर भए पनि त्यस्तो अवस्था आयो भने त्यो दुर्घटनामा जान्छ र ज्यादै ठूलो नोक्सानी जनताले व्यहोर्नुपर्छ, राष्ट्रले व्यहोर्नुपर्छ। नेपालको संविधानमा नेपाल राज्यलाई चिनाउनका निम्ति समाजवाद उन्मुद राज्य निर्माण गर्ने भन्या छ, र त्यो समाजवाद उन्मुख सबै नेताहरूको मुखमुखमा झुन्डिएको छ तर समाजवाद बन्न सकेन। गाउँमा जानुस्, बाटामा जानुस्, चिया पसलमा जानुस् चर्चा के भइरहेको छ इमान्दारीका साथ भन्नुस् हाम्रो विरुद्ध चर्चा छ, यो व्यवस्थाको विरुद्ध चर्चा छ। त्यसले गति लिइरहेको छ। त्यो गति एकदिन विस्फोट हुन्छ हामी सबै समाप्त हुन्छौँ। त्यसो भएर मौका छ केही समय। यो व्यवस्था ल्याउने नेपाली काँग्रेस र कम्युनिष्ट नै हुन् एकताबद्ध भएर समाजवाद घोषणा गर जुन समाजवाद परिकल्पना गरिएको थियो संविधानमा उल्लेख गरिएको समाजवाद। ढिला नगरी हामीले त्यो काम शुरु गर्नुपर्छ।’