arrow

रविन्द्र मिश्र थप पाँच दिन हिरासतमा बस्नुपर्ने, बुधबार बन्दी प्रत्यक्षीकरणको पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
rabindra-mishra-arrest-81-1.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ। उनीसँगै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो । उनीहरूमाथि राज्य विरूद्धको कसूर र संगठित अपराध मुद्दा चलिरहेको छ ।

गत चैत १५ गतेदेखि अनुसन्धानका लागि भन्दै मिश्र प्रहरीको हिरासतमा रहेका छन् । पटक पटक गरी उनको हिरासत बस्ने समय लम्बिएको छ । 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनलाई हिंसात्मक बनाउन उनको पनि हात रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनीमाथि अनुसन्धान जारी रहेको छ । 

काठमाडौँ जिल्ला अदालतले निरन्तर समय थपिरहेको छ । हेर्दा हेर्दै उनी ४५ दिनसम्म प्रहरीकै हिरासतमा रहेका छन् । 

पत्नीले बल्ल दर्ता गरिन् बन्दी प्रत्यक्षीकरणको रिट
मिश्रलाई हिरासतमा रहेको ४५ दिनपछि बल्ल उनकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी छिन् । मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको हो । 

मिश्रलाई सरकारले गैरकानूनी थुनामा राखेको दाबी गर्दै उनकी श्रीमती सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् । मंगलबार दर्ता भएको रिटमा सर्वोच्च अदालतको प्रशासनले बुधबारको लागि पेसी तोकेको छ ।

सारिकाले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधिवक्ता रमेश बडाल, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएकी छिन् । 

बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रलाई गैरकानुनी रूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमति दिइरहेको दाबीसमेत गरिएको छ ।

मिश्रको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
गत चैत १५ गते गिरफ्तार गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, पशुपति खड्‌का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ । 

वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औँ दिनमा पुगेको छ । जावलाखेलस्थित ललित मण्डपमा उनीहरु अनशन बसेका हुन् । 

अनशनमा बसेकाहरुले झुटा मुद्दा खारेज, रविन्द्र मिश्रलगायत सम्पूर्ण राष्ट्रवादी साथीहरुलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् । 

चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र अहिलेसम्म हिरासतमै छन् ।

गत चैत १५ मा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा भएको तीनकुने प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यही दिन मिश्र पक्राउ परेका थिए । 

संयुक्त जनआन्दोलन परिचालन समितिमा मिश्र सदस्य सचिवको जिम्मेवारीमा रहेकाले आन्दोलन भड्काउन उनको हात रहेको प्रहरीले त्यतिबेलै ठहर गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ