फागुन २१ को निर्वाचन केही समय पर सार्नुपर्छ : रवीन्द्र मिश्र
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
2.1k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे ।
उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।
‘काठमाडौँ क्षेत्र नं १ मा पहिले अन्य पार्टीलाई भोट हालेका मतदाताहरूले नै मलाई माया गरेर कार्यक्रमहरू आयोजना गरिदिनु भएको छ,’ उनले भने ।
उनले थपे, ‘दुईटा चुनावमा झिनो मतान्तरले पराजित भएकाले तेस्रो पटक जित्ने अवस्थामा आइपुग्दा आत्मविश्वास र खुशी हुनु स्वाभाविक हो । यो पटक काठमाडौँ क्षेत्र नं १ बाट म विजय हुन्छु भन्ने कुरामा म सय प्रतिशत होइन दुई सय प्रतिशत विश्वस्त छु ।’
मिश्रले आफू विजयी भएर संसदमा पुगेपछि पार्टीले अघि सारेका एजेण्डाअनुसार देशलाई अगाडि बढाउन नसकिए देशको हित नहुने स्पष्ट पारे ।
यसैबीच उनले आगामी फागुन २१ मा तोकिएको निर्वाचन केही समय पर सार्नुपर्ने धारणा पनि राखे ।
निर्वाचन अघि देश नयाँ समझदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण संक्रमण सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने बताए ।
‘संविधानको सर्भिसिङ होइन, अब ओभरहोलिङ(वृहत मर्मत) आवश्यक छ,’ मिश्रले भने, ‘देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ । म जित्नेमा ढुक्क भए पनि निर्वाचनभन्दा अघि देश नयाँ समझदारीको बाटोमा जानुपर्छ, त्यसपछि मात्र निर्वाचन होस् भन्ने मेरो चाहना हो ।’